Banijya News

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो ।

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्‌न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा न्यूनतम १० करोडदेखि १० करोडले भाग जाने गरी अधिकतम आह्वान गरिएको कुल रकमसम्म बोल गर्न पाइनेछ ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ । यदि समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा (अनुपातिक) आधारमा रकम बाँडफाँट गरिने बैंकले जनाएको छ । यस उपकरणको परिपक्व हुने अवधि आगामी भदौ २२ गते तोकिएको छ । उक्त मितिमा राष्ट्र बैंकले निर्धारित ब्याजसहित साँवा रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिदिनेछ ।

विशेष सर्तअनुसार यो निक्षेप रकमलाई बैंकहरूले आफ्नो लगानी पोर्टफोलियोमा गणना गर्न पाउने छैनन् । यद्यपि, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने यसलाई गणना गर्न पाइने सुविधा छ । यो निक्षेप अवधि सकिनुअघि फिर्ता (प्रि–म्याच्योर पेमेन्ट) हुने छैन ।

1

Scroll to Top