Banijya News

नब्बे हजारबढीले छाडे जीवन बीमा पोलिसी, १२.०८ प्रतिशतले बढ्यो व्यतीत बीमालेख

1
1.1K Shares

गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डर (बीमालेख समर्पण) गरेको रकम १४ अर्बको हाराहारीमा पुगेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब प्रतिवेदनअनुसार असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.११ प्रतिशतले कम हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।

प्रतिवेदनअनुसार सरेण्डर रकमसँगै बीमालेख त्याग गर्ने बीमितको संख्या पनि घटेको छ । गत आर्थिक वर्षमा ९० हजार ३८७ जनाले मात्र आफ्‌नो जीवन बीमा पोलिसी समर्पण गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको १ लाख ८ हजार २३८ जनाको तुलनामा १६.४९ प्रतिशतले कम हो ।

तर, व्यतीत बीमालेख (ल्याप्स/नवीकरण नगरिएका बीमालेख) को रकम भने उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षमा नवीकरण नभएका जीवन बीमालेखको कुल रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँको तुलनामा १२.०८ प्रतिशतले बढी हो ।

यद्यपि, नवीकरण नभएका बीमालेखको संख्या भने घटेको देखिएको छ । समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा जीवन बीमा पोलिसी नवीकरण हुन नसकेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख ४३ हजार ३६५ रहेको थियो । यस आधारमा व्यतित बीमालेखको संख्या १७.१६ प्रतिशतले घटेको देखिन्छ ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार पोलिसी सरेण्डर गर्ने संख्या घट्नु सकारात्मक संकेत भए पनि व्यतीत बीमालेखको रकम बढ्दै जानुले दीर्घकालीन रूपमा बीमा कम्पनीहरूका लागि चुनौतीको विषय हुन सक्ने देखिएको छ ।

1

Scroll to Top