सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि दाबी हुन नसकेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ सम्ममा पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको नगद लाभांश बाँकी रहेको जनाएको छ ।
साथै, बैंकले निष्क्रिय बैंक खाताको हकदाबी र अद्यावधिक गर्न सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई आग्रह गरेको छ ।
विगतका साधारण सभाबाट पारित निर्णयअनुसार यस्तो लाभांश लिन बाँकी सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा सम्पर्क गरी लाभांश लिन आग्रह गरिएको हो ।
समयमै लाभांश संकलन नगरेमा प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभएका, मौज्दात रहेका वा शून्य मौज्दात भएका निष्क्रिय खाताहरू अद्यावधिक गरी पुनः सञ्चालनमा ल्याउन निक्षेपकर्तालाई आग्रह गरेको छ ।
बैंकका अनुसार सम्बन्धित खातावालाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने शाखा कार्यालयमा आवश्यक प्रमाणसहित स्वयं उपस्थित भई खाता अद्यावधिक गर्नुपर्नेछ ।
तोकिएको अवधिमा हकदाबी नपरेका र १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खातालाई नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ को दफा ३(३) बमोजिम बन्द गरिने बैंकले जनाएको छ ।
यसैगरी, बैंकले २० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताहरूका सम्बन्धित निक्षेपकर्ता वा कानुनी हकवालालाई समेत खाता दाबी तथा अद्यावधिक गर्न आह्वान गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकमा साविक कसमस डेभलपमेन्ट बैंक लिमिटेड र वागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेडका खातासमेत समेटिएका छन् । सम्बन्धित निक्षेपकर्ता वा कानूनी हकवालाले आवश्यक प्रमाणसहित सूचना जारी भएको मितिले १५ दिनभित्र नजिकको शाखामा सम्पर्क गरी खाता अद्यावधिक तथा हकदाबी गर्नुपर्नेछ ।
तोकिएको अवधिमा कसैको हकदाबी नपरेमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को दफा ३(४) बमोजिम त्यस्ता खातामा रहेको रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ ।
बैंकले पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको लाभांश तथा १० वर्ष र २० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका खातासम्बन्धी विवरण आफ्नो वेबसाइटमा समेत राखिएको जनाएको छ ।


