Banijya News

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड, ईपीएस २५.५२ रुपैयाँ, अन्य सूचक कस्तो ?

1
1.0K Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार यस अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.३१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको विद्युत् बिक्री आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो ।

यसैगरी, कम्पनीले बीमा दाबी वापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाखबाट घटेर २० करोड १९ लाख कायम भएको छ । विद्युत् बिक्री आम्दानी बढ्नुका साथै बीमा दाबीको रकम पाएको र ब्याज खर्च पनि घटेको कारणले कम्पनीको खुद नाफा बढेको देखिन्छ । कम्पनीको संचालन मुनाफा पनि ८९ करोड १८ लाखबाट बढेर १ अर्ब नाघेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रहेको छ । कम्पनीको चुक्ता पुँजीलाई आधार मान्दा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को नाफाबाट मात्र पनि २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ ।

यस कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला आयोजना निर्माणको तयारी गरेको छ । हालै मात्र आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजना निर्माणको लागि कम्पनीलाई नगद चाहिने भएकोले कम्पनीले लाभांशको रुपमा बोनस सेयर नै दिने आँकलन गरिएको छ । यस अघिका वर्षमा पनि कम्पनीले बोनस सेयरलाई नै जोड दिँदै आएको थियो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश दिदै आएको छ ।

कम्पनीको खुद नाफा बढेसँगै प्रति शेयर आम्दानी २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रतिसेयर आम्दानी कायम गर्न सफल भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत् उत्पादन गरिरहेका छन् ।

1

Scroll to Top