विद्युत् महसुल संरचनालाई समयानुकूल र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको थियो । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा भ्याट विवाद सम्बोधन गर्न प्रभावकारी महसुल प्रणाली विकास गर्ने लक्ष्यसहित प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन समिति गठन गरेको हो । तर, समितिलाई तोकिएको समयावधि सकिन लाग्दा एउटा बैठकसमेत बस्न नसकेको पाइएको छ ।
हालको विद्युत् महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समयसीमासहित समिति गठन भएको थियो । सञ्चालक समितिले तोकेको १५ दिनको समयावधि भोलि साउन २८ गते सकिने भएको छ । तर, यो दुई हप्ताको अवधिमा समितिको पहिलो प्रारम्भिक बैठकसमेत बस्न सकेको छैन ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले बिजुली खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको छ । सोही विरोधलाई सम्बोधन गर्ने उद्देश्यले विद्युत्को महसुल दर परिमार्जन गर्न ऊर्जा मन्त्रालयको पहलमा प्राधिकरण सञ्चालक समितिले गत साउन १३ गते छुट्टै पुनरावलोकन समिति गठन गरेको थियो ।
उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्ने, गार्हस्थ्य उपभोक्तालाई सहुलियत दिने र उत्पादनमूलक उद्योगहरूलाई प्रतिस्पर्धी महसुल दरमा बिजुली उपलब्ध गराई खपत वृद्धि गराउनु यस समितिको मुख्य कार्य हो ।
तर, निर्णय भएको लामो समयसम्म पनि समितिका सदस्यहरूले औपचारिक जिम्मेवारी पाउन सकेनन् । सञ्चालक समितिको बैठकको निर्णय प्रमाणीकरण हुन नै ढिलाइ भएपछि मनोनित सदस्यहरूलाई पत्र पठाउन एक साताभन्दा बढी समय लागेको थियो । प्रशासनिक ढिलासुस्तीका कारण १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको समितिको बैठक नै नबसी समयसीमा सकिन लागेको हो ।
समितिका सदस्य सचिव एवं प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालका अनुसार, पत्र ढिलो तयार भएकाले पहिलो बैठक बस्न नसकेको हो । तर, अहिले पत्रहरू पठाइसकिएकाले चाँडै बैठक बसेर कार्यदिशा तय गर्ने उनको भनाइ छ ।
महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ । यस समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य सचिवका रूपमा उपकार्यकारी निर्देशक ढकाल रहेका छन् ।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेखनीय रूपमा बढ्दै गएको र विशेषगरी वर्षायाममा उत्पादित विद्युत् पूर्ण रूपमा खपत हुन नसकेकाले आन्तरिक विद्युत् उपभोग बढाउने नीति आवश्यक भएको छ । सोहीअनुसार घरायसी तथा औद्योगिक उपभोक्तालाई लक्षित गर्दै महसुल संरचनामा सुधारको तयारी गरिएको हो ।
प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत उपलब्ध गराउने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई सहज र प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगको उत्पादन लागतसमेत कम हुने अपेक्षा गरिएको छ ।
तर, नीतिगत सुधारका लागि गठन गरिएको समिति सुरुवातमै सुस्त देखिएपछि उद्योगी तथा उपभोक्ताहरूमा महसुल समायोजन र भ्याटसम्बन्धी अन्योल तत्काल हट्नेमा शंका उब्जिएको छ । यद्यपि, ऊर्जा मन्त्रालयले भने समिति बनाउने निर्णय गरेको समयलाई नभई पत्र बुझेको समयलाई आधार मानेर समितिको बैठक बस्ने जनाएको छ ।


