Banijya News

विदेशी मुद्रामा एनआरएनको ठूलो लगानी भित्र्याउने बाटो खुल्यो

1
1.0K Shares

गैरआवासीय नेपाली (एनआरएन) को सक्रियतामा स्थापना भएको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ले विदेशी मुद्रामा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार धितोपत्र निष्कासनसम्बन्धी नियमावली संशोधन गर्दै फन्डलाई विदेशी मुद्रामा लगानी भित्र्याउन तथा लगानीको प्रतिफल सोही मुद्रामा फिर्ता लैजान सक्ने व्यवस्था गरेसँगै आईपीओ निष्कासनको बाटो खुलेको हो।

यो व्यवस्था कार्यान्वयनमा आएपछि विदेशी मुद्रामा आईपीओ जारी गर्ने अनुमति पाउने एनआरएन नेपाल डेभलपमेन्ट फन्ड पहिलो संस्था बनेको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब कायम रहेका बेला फन्डमार्फत ठूलो परिमाणमा वैदेशिक पुँजी भित्र्याउन सकिने भएकाले यसले नेपालको शोधनान्तर स्थितिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईका अनुसार सेबोनले कुल जारी पुँजीको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विदेशी मुद्रामा निष्कासन गर्न स्वीकृति दिएको हो। लगानीकर्ताले विदेशी मुद्रामै सेयर खरिद गर्न सक्नेछन् भने प्राप्त लाभांश तथा लगानी फिर्ता पनि सोही मुद्रामा गर्न सकिने व्यवस्था हुनेछ।

भट्टराईका अनुसार लामो समयदेखि कानुनी अड्चनका कारण रोकिएको प्रक्रिया धितोपत्र नियमावली संशोधनसँगै अगाडि बढेको हो। यसअघि विदेशी मुद्रामा आईपीओ निष्कासनसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा विदेशमा रहेका नेपालीले डलर वा अन्य विदेशी मुद्रामार्फत लगानी गर्न कठिनाइ भोग्दै आएका थिए।

फन्डको अधिकृत तथा जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ। जारी पुँजीमध्ये १० प्रतिशत एनआरएन संस्थापक प्रवर्द्धकबाट र ५ प्रतिशत नेपाल सरकारबाट संकलन गरिएको छ। बाँकी ८५ प्रतिशत पुँजी आईपीओमार्फत जुटाइनेछ। यो निष्कासन नेपालको पुँजी बजारमा हुने ठूला सार्वजनिक निष्कासनमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

फन्डले आगामी पाँच वर्षमा आफ्नो पुँजीको आकार बढाएर ५० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। त्यसका लागि थप आईपीओसँगै बन्ड तथा डिबेन्चर जारी गर्ने योजना रहेको भट्टराईले बताए। फन्डले करिब १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रसमेत निष्कासन गर्ने तयारी गरेको छ।

प्रारम्भिक चरणमा फन्डले पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, शहरीकरण, पूर्वाधार, ऊर्जा, वित्त, स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नेछ। विशेषगरी जलविद्युत्, सडक, पर्यटन तथा ठूला पूर्वाधार आयोजनामा लगानी केन्द्रित गर्ने योजना छ।

विदेशमा रहेका नेपालीलाई लगानी प्रक्रिया सहज बनाउन फन्डले ‘डायस्पोरा इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम’ विकास गरेको छ। यसमार्फत विदेशमै बसेर अनलाइनबाट बैंक खाता खोल्ने, डिम्याट खाता सञ्चालन गर्ने र लगानीसम्बन्धी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिनेछ।

फन्डले विश्वका विभिन्न मुलुकमा ‘ग्लोबल रोड शो’ तथा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरी लगानी आह्वान गर्ने तयारीसमेत गरेको छ।

विसं २०७७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको फन्डले करिब ६ वर्षको प्रयासपछि आईपीओ निष्कासनको स्वीकृति पाएको हो। नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा अघि बढेको यो परियोजनाले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्ने अपेक्षा गरिएको छ। फन्डमार्फत पूर्वाधार विकास, रोजगारी सिर्जना तथा दीर्घकालीन आयस्रोत निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।

1

Scroll to Top