नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको पुनर्बीमा व्यवस्थालाई थप व्यवस्थित, सुरक्षित र जोखिममा आधारित बनाउन ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गरेको छ। निर्देशिकामा पछिल्लो संशोधन २०८३ साउन २४ मा गरिएको हो।
संशोधित व्यवस्थाले बीमकको पुनर्बीमा नीति, जोखिमधारण क्षमता, स्वदेशी पुनर्बीमकको सहभागिता तथा पुनर्बीमा कम्पनीको वित्तीय सबलतालाई प्राथमिकता दिएको छ।
निर्देशिकाअनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले आफूले धारण गर्न नसक्ने वा जोखिम धारण गरेपछि बाँकी रहने जोखिमको पुनर्बीमा गर्नुपर्नेछ। पुनर्बीमा व्यवस्था गर्दा जोखिमको विविधीकरणसँगै बीमकको प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त विश्लेषण गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले पुनर्बीमा कारोबारमा स्वदेशी पुनर्बीमकको सहभागिता बढाउने उद्देश्यले महत्वपूर्ण व्यवस्था गरेको छ। अब बीमकले प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ। यस व्यवस्थाले नेपाली पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारसँगै देशभित्रै पुनर्बीमा कारोबारबाट हुने आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बीमकले पुनर्बीमा कारोबार गर्दा नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त स्वदेशी पुनर्बीमक वा सम्बन्धित देशको नियामकबाट इजाजत प्राप्त गरी प्राधिकरणमा सूचीकृत विदेशी पुनर्बीमकसँग मात्रै कारोबार गर्नुपर्नेछ। यसले पुनर्बीमा कारोबारमा संलग्न कम्पनीको नियामकीय विश्वसनीयता सुनिश्चित गर्ने प्राधिकरणको उद्देश्य देखिन्छ।
त्यस्तै, प्रत्येक आर्थिक वर्षका लागि बीमकले आफ्नो नेटवर्थ, जोखिमांकन, पुनर्बीमा जोखिमधारण क्षमता तथा समग्र वित्तीय क्षमताका आधारमा पुनर्बीमा नीति तयार गर्नुपर्नेछ। यस्तो नीति सम्बन्धित आर्थिक वर्ष समाप्त हुनुअघि नै सञ्चालक समितिबाट पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
संशोधित निर्देशिकाले महाविपत्ति पुनर्बीमालाई समेत विशेष प्राथमिकता दिएको छ। बीमकले आफूले जारी गर्ने बीमालेखअन्तर्गत धारण गरेको जोखिम र पुनर्बीमा व्यवस्थाबाट सिर्जना हुन सक्ने अतिरिक्त जोखिमलाई समेत ध्यानमा राखेर पर्याप्त महाविपत्ति पुनर्बीमा गर्नुपर्नेछ। यसले भूकम्प, बाढी, पहिरो, आँधी वा अन्य ठूलो क्षतिका कारण एकैपटक ठूलो दाबी उत्पन्न हुँदा बीमकको वित्तीय क्षमतामा पर्ने दबाब कम गर्न सहयोग गर्नेछ।
ट्रिटी पुनर्बीमाका लागि तोकिएको न्यूनतम वित्तीय सबलता रेटिङ भएका पुनर्बीमकसँग मात्र कारोबार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। फ्याकल्टेटिभ पुनर्बीमामा समेत न्यूनतम रेटिङको मापदण्ड तोकिएको छ।
प्राधिकरणको यो संशोधनले बीमकलाई जोखिमको उचित मूल्यांकन गरी पुनर्बीमा संरचना बनाउन बाध्य पार्ने देखिन्छ। साथै, स्वदेशी पुनर्बीमकलाई निश्चित हिस्सा सुनिश्चित हुँदा नेपालको पुनर्बीमा बजारलाई थप मजबुत बनाउन र बीमा व्यवसायमा देखिन सक्ने ठूला जोखिम व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


