Banijya News

एनसेल–स्मार्ट सेल प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, बिगो ९६ अर्बभन्दा बढी

1
1.1K Shares

एनसेल आजियटाको सेयर खरिद–बिक्री विवाद तथा स्मार्ट सेलको उपकरण लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

मुद्दामा कुल ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । एनसेलको सेयर बिक्री र स्मार्ट सेलको उपकरण लिलामीलाई छुट्टाछुट्टै कसुरका रूपमा लिएर बिगो निर्धारण गरिएको सरकारी पक्षले जनाएको छ ।

एनसेलको सेयर खरिद–बिक्रीबाट राज्यलाई ८७ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति पुगेको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरिएको छ ।

यस प्रकरणमा एनसेलका सञ्चालक सतिशलाल आचार्य, डा. श्रीधीर सरिपुक्ताहन्स विजय सुरिया, अब्दुजावोर कायुमोभ, थन्डालाम धिराभल्ली थिरुमलाचारी, अमाली नानायाकरा, डोनाल्ड जेम्स रे र नियो हुई युलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, स्मार्ट सेलको लाइसेन्स खारेज भएपछि सरकारको स्वामित्वमा आएका बिटिएस टावरलगायत उपकरण लिलामी गरी एनसेलले खरिद गरेको प्रक्रियामा समेत कानुन उल्लंघन भएको अभियोग लगाइएको छ । उक्त प्रकरणमा चार अर्ब २० करोड रुपैयाँ बिगो कायम गरिएको छ ।

स्मार्ट सेलको उपकरण लिलामी प्रक्रियामा सर्वेश जोशी, सतिशलाल आचार्य, सचिनलाल आचार्य, भाष्करलाल नरसिंह जोशी, ज्योतिप्रकाश पाण्डे, पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला, दीपांकर शाक्य उडाई, शालिकराम बेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत कानुनविपरीत कर्जा असुलीका लागि लिलामी प्रक्रिया अघि बढाएको अभियोग लगाइएको छ । बनावटी खरिद प्रक्रिया निर्माणमा संलग्न भएको आरोपमा पलिना श्रेष्ठ, खुमनाथ अधिकारी र नरेन्द्र उलकलाई पनि प्रतिवादी बनाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने चार अर्ब ३६ करोड ५८ लाख २० हजार ४८२ रुपैयाँसमेत असुल गर्नुपर्ने दाबी गरिएको छ । उक्त रकमको बिगो कायम गर्दै सर्वेश जोशी, सतिशलाल आचार्य, भावनासिंह श्रेष्ठ र सचिनलाल आचार्यविरुद्ध मुद्दा दायर भएको छ ।
यसैगरी, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई अध्यक्ष पदमा रहँदा स्मार्ट सेलको उपकरण लिलामी रोक्न पर्याप्त भूमिका निर्वाह नगरेको अभियोग लगाइएको छ ।

सरकारी पक्षका अनुसार एनसेलको सेयर कारोबार र स्मार्ट सेलको सम्पत्ति व्यवस्थापनसँग जोडिएका विभिन्न निर्णय तथा प्रक्रियाबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको देखिएको छ । अनुसन्धानका क्रममा सम्बन्धित कम्पनीका सञ्चालक, बैंकका अधिकारी तथा नियामक निकायका पदाधिकारीको भूमिकासमेत परीक्षण गरिएको थियो। अब मुद्दामाथि अदालतमा हुने सुनुवाइबाट अभियोगमा उल्लेख गरिएका आरोप तथा बिगोको कानुनी आधारबारे थप टुंगो लाग्नेछ ।

1

Scroll to Top