Banijya News

लाइसेन्सबिनाका गाइडलाई अब बागमतीमा रोक

1
1.0K Shares

बागमती प्रदेश सरकारले इजाजतपत्र नलिएका व्यक्ति तथा विदेशी नागरिकलाई गाइडका रूपमा प्रयोग नगर्न पर्यटन व्यवसायीलाई कडा निर्देशन दिएको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यालय, बबरमहलले सार्वजनिक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त गाइडमार्फत मात्रै पर्यटकीय सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

कार्यालयका अनुसार विभिन्न पर्यटकीय गन्तव्य, पदमार्ग तथा क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा, म्याफिडङलगायत गतिविधिमा सहभागी गराउँदा इजाजतपत्र नभएका व्यक्तिले गाइडका रूपमा काम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको छ । यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्यालयले अब त्यस्ता गतिविधिमा कडाइ गर्ने जनाएको छ ।

पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा वा अन्य पर्यटकीय गतिविधिमा सहभागी गराउँदा सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गाइडमार्फत मात्रै सेवा दिनुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।

साथै, सेवा प्रदान गर्नुअघि गाइडको इजाजतपत्र, त्यसको वैधता तथा सम्बन्धित गतिविधि सञ्चालन गर्ने अधिकार वा योग्यता यकिन गर्ने जिम्मेवारी पर्यटन व्यवसायीको हुने बताइएको छ ।

कार्यालयले पर्यटन व्यवसायी, ट्राभल तथा ट्रेकिङ व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, गाइडलगायत सरोकारवालालाई पर्यटकको सुरक्षा, सेवाको गुणस्तर र व्यावसायिक मर्यादा कायम गर्न प्रचलित ऐन, नियम, निर्देशिका तथा मापदण्ड पालना गर्न आग्रह गरेको छ । व्यवसायीले इजाजतपत्रप्राप्त गाइडको विवरण तथा अभिलेखसमेत व्यवस्थित रूपमा राख्नुपर्नेछ ।

इजाजतपत्रबिना गाइडको रूपमा काम गरेको वा गराएको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने कार्यालयले चेतावनी दिएको छ । सूचनाको अवज्ञा गरी सेवा सञ्चालन गर्दा उत्पन्न हुने सम्पूर्ण कानुनी तथा व्यावसायिक दायित्व सम्बन्धित व्यक्ति वा व्यवसायी स्वयंले व्यहोर्नुपर्नेछ ।

1

Scroll to Top