Banijya News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण

1
1.1K Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ ।

बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा गर्दै आएको काम–कारबाहीलाई लिएर उक्त मुद्दा दायर भएको जनाएको हो ।

बैंकले संस्थाको सबलता, ग्राहकको हित तथा समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई निरन्तरता दिइरहेको बताएको छ । साथै, बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि बैंकले आग्रह गरेको छ ।

साथै, बैंकका सम्बन्धमा सार्वजनिक भएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई अनुरोध गरेको छ ।

बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

1

Scroll to Top