Banijya News

बुटवल पावरको नाफा ५४ प्रतिशतले बढ्यो, ६०१ मेगावाटका आयोजना बन्दै

1
1.1K Shares

बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आवमा ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत वर्ष आम्दानी र खुद नाफामा उल्लेख्य सुधार गरेको पाइएको छ । गत आवमा कमाएको खुद नाफा अघिल्लो आवको तुलनामा ५४.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा २१ करोड ७३ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि ९.२४ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्म कम्पनीले विद्युत बिक्री र सेवा शुल्कबाट ८० करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ७३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी, कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षको २६ करोड ६० लाखबाट बढेर ४२ करोड १९ लाख रुपैयाँ पुगेको छ । बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी ९.८४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१०.८७ रुपैयाँ छ ।

कम्पनीले विदेशी साझेदारहरूसँग मिलेर कुल ६०१ मेगावाट क्षमताका तीनवटा ठूला आयोजना बनाइरहेको छ । कम्पनीले १३९.२ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ आयोजना अगाडि बढाएको छ । मनाङ मर्स्याङ्दी आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावर सञ्चालनमा आइसकेको भए पनि प्रसारण लाइनको समस्याका कारण बर्खायाममा केही ऊर्जा खेर गइरहेको छ । यद्यपि, माथिल्लो मर्स्याङ्दी–ए मा स्वीचिङ स्टेशन निर्माण सम्पन्न भएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

७.९ मेगावाटको चिनो खोला जलविद्युत आयोजनाको निर्माण कार्य ईपीसी ठेक्का मार्फत अगाडि बढिरहेको छ । खिम्ती–१ आयोजनाको ५० प्रतिशत हक नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने र नयाँ पीपीए गर्ने विषयमा वार्ता भइरहेको छ ।

कम्पनीले जलविद्युत् आयोजना निर्माणमा हुने प्रशासनिक ढिलासुस्ती र नीतिगत अस्पष्टता, वैदेशिक विनिमय दरमा हुने उतारचढाव र पूँजीको लागत वृद्धि, जलवायु परिवर्तनका कारण नदीमा पानीको बहावमा आउने घटबढ र बाढीको जोखिम र प्रसारण लाइनको अभाव र ढिलाइले गर्दा उत्पादित उर्जा राष्ट्रिय प्रसारणमा जोड्न देखिएको अवरोधलाई चुनौतीका रूपमा उल्लेख गरेको छ ।

1

Scroll to Top