एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । लगानीको मूल्यमा आएको गिरावट र कुल आम्दानीमा भएको भारी संकुचनका कारण यसपटक कम्पनीको वित्तीय अवस्था कमजोर बनेको हो ।
विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ५०.९० प्रतिशतले बढेको छ । तर, कुल आम्दानी भने ९८.५१ प्रतिशतले घटेको छ । यसैगरी कम्पनीको कुल खर्च ३२.४३ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ २३ पैसा कायम छ ।
कम्पनीले जलविद्युत, पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेको जनाएको छ । कम्पनीले लगानी गरेका ६ जलविद्युत आयोजनामध्ये ५ वटा सञ्चालनमा आइसकेका छन् ।
त्यस्तै, अपर म्याग्दी जलविद्युत आयोजनामा ५१ प्रतिशत काम सम्पन्न भएको छ । ५३.५ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२७ मार्च ५ सम्म व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य कम्पनीको छ ।

