रिलायन्स फाइनान्स लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २६.२७ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ६ करोड ८६ लाख रुपैयाँ थियो ।
अघिल्लो आवमा १ करोड ९६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आवमा बढेर ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यससँगै यस्तो चार्ज ३३५.६९ प्रतिशतले बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।
कम्पनीको ब्याज आम्दानीमा भने सुधार देखिएको छ । गत आवमा ब्याज आम्दानी ७.७४ प्रतिशतले बढेर २८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । तर, इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिले नाफामा दबाब परेको हो ।
यद्यपि, कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा सुधार भएको छ । अघिल्लो आवमा ८.३९ प्रतिशत रहेको एनपीएल गत आवमा घटेर ६.५५ प्रतिशतमा सीमित भएको छ ।
कम्पनीको पूँजीकोष अनुपात १२.४९ प्रतिशत, कस्ट अफ फण्ड ४.५४ प्रतिशत, सीडी रेसियो ८५.०२ प्रतिशत र बेस रेट ६.७२ प्रतिशत रहेको छ । त्यस्तै, स्प्रेड दर ४.१५ प्रतिशत र तरलता अनुपात २३.२५ प्रतिशत छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६.१२ रुपैयाँबाट घटेर ४.५१ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ ११६.७८ रुपैयाँ र पीई रेसियो ९९.७६ गुणा रहेको छ ।
यसैगरी, कम्पनीको वितरणयोग्य मुनाफा १५ करोड १० लाख रुपैयाँ ऋणात्मक छ । वितरणयोग्य मुनाफा ऋणात्मक रहेकाले कम्पनीको लाभांश क्षमता पनि १३.४७ प्रतिशत ऋणात्मक रहेको छ ।

