हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकका अनुसार असार मसान्तसम्ममा खुद नाफा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
नाफामा सुधार आए पनि बैंकको मुख्य आम्दानीका स्रोतमा भने संकुचन देखिएको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १० अर्ब ४२ करोड ५० लाख रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँमा झरेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७.९७ प्रतिशत थियो । निष्क्रिय कर्जा उच्च रहेकाले बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ प्रोभिजन गरेको छ ।
यद्यपि, अघिल्लो वर्षको ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँको तुलनामा प्रोभिजन रकम घटेको छ । चौथो त्रैमासमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइट ब्याकसमेत गरेको छ ।
नाफामा सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ०.६० रुपैयाँबाट बढेर ६.५६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ कायम छ । बैंकको आधार दर ६.६३ प्रतिशतबाट घटेर ५.३१ प्रतिशत तथा स्प्रेड दर ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा आएको छ ।
बैंकको सञ्चित नोक्सानी भने बढेको छ । गत वर्ष ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी बढेर ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ । बक्यौता ब्याज तथा अन्य व्यवस्थापनपछि वितरणयोग्य नाफा पनि ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकले निक्षेप संकलन बढाएर ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह सामान्य बढ्दै २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । पुँजी कोष अनुपात १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगे पनि प्राथमिक पुँजी अनुपात ७.६९ प्रतिशतमा सीमित छ ।
त्यस्तै, बैंकको सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ । कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा झरेको छ । यसले बैंकसँग लगानीयोग्य स्रोत पर्याप्त रहे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको संकेत गर्छ ।

