Banijya News

खराब कर्जा घट्दा बैंकहरुको नाफा बढ्यो, पाँच बैंक भने दबाबमा

1
1.0K Shares

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले कुल ७१ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३५.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएको कर्जाको साँवा–ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा समायोजन गर्न पाउने व्यवस्था छ । यही सुविधासमेत प्रयोग गर्दै सबै वाणिज्य बैंकले शनिबारसम्म गत आवको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा विस्तार तथा असुली प्रभावित हुँदा बैंकहरूको आम्दानीमा दबाब परेको थियो । तर, केही बैंकले कर्जा असुलीलाई प्राथमिकता दिएपछि निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । त्यसको प्रत्यक्ष प्रभाव बैंकहरूको नाफामा परेको देखिन्छ ।

हिमालयन बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक र नेपाल बैंकले कर्जाको साँवा तथा ब्याज असुलीमा सुधार गर्दै निष्क्रिय कर्जाको अनुपात घटाएका छन् । समग्र वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो आवको ७.९७ प्रतिशतबाट सामान्य घटेर ७.९६ प्रतिशतमा आएको छ ।

हिमालयन बैंकले कर्जा असुली सुधार गरेपछि नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकको खुद नाफा अघिल्लो आवको १२ करोड ९७ लाख रुपैयाँबाट बढेर गत आवमा १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, नबिल बैंकको निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशतबाट घटेर ४.२ प्रतिशतमा झरेको छ । यससँगै बैंकको खुद नाफा ५ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकले पनि निष्क्रिय कर्जा ४.५६ प्रतिशतबाट घटाएर ४.१८ प्रतिशतमा ल्याएको छ । बैंकको खुद नाफा ३ अर्ब ७ करोडबाट बढेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

तर सबै बैंकको वित्तीय अवस्था सुधारिएको छैन । निष्क्रिय कर्जा बढेका कारण पाँच वाणिज्य बैंकको खुद नाफा घटेको छ । कृषि विकास बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा संकुचन आएको हो ।

कृषि विकास बैंकको नाफा अघिल्लो आवको ३ अर्ब ७३ करोड रुपैयाँबाट घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ ।

लक्ष्मी सन्राइज बैंकको निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ । बैंकको खुद नाफा ४ अर्ब ६ करोड रुपैयाँबाट घटेर ३ अर्ब ११ करोड रुपैयाँमा झरेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पनि खराब कर्जाको दबाब बढेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ ।

प्रभु बैंकसमेत खराब कर्जाको दबाबका कारण घाटामा गएको छ । यसले बैंकहरूको नाफा वृद्धिमा कर्जा असुली र सम्पत्तिको गुणस्तर निर्णायक रहेको देखाएको छ । पछिल्लो वित्तीय विवरणले बैंकहरूको नाफा बढे पनि सबै बैंकमा समान सुधार नभएको र खराब कर्जा व्यवस्थापन अझै मुख्य चुनौतीका रूपमा रहेको देखाएको छ ।

1

Scroll to Top