Banijya News

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोडभन्दा बढी, ईपीएस ४९.२५ रुपैयाँ कायम, अन्य सूचक कस्तो ?

1
1.1K Shares

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्किृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, कम्पनीले गत आवमा खुद मुनाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।

अघिल्लो वर्षको तुलनामा गत आवमा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो । कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो ।

यसैगरी, गत आव २०८२/८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । यसअनुसार गत आवमा कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ वा २.६५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो । यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँले बढेको देखिन्छ ।

त्यस्तै, कम्पनीको प्रति शेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ । नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो ।समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।

यद्यपि, जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएकाले समग्र सञ्चालन आय बढेको छ । जीएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ ।

1

Scroll to Top