Banijya News

जीवन बीमा कम्पनीको नाफा १०.५३ प्रतिशतले खुम्चियो, कुनको आम्दानी कति ?

1
1.1K Shares

गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको खुद नाफामा गिरावट आएको छ । कम्पनीहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले वर्षदिनमा कुल ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशत कम हो ।

आर्थिक वर्ष २०८१/८२ मा १४ जीवन बीमा कम्पनीले कुल ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवमा अधिकांश कम्पनीको व्यवसाय तथा वित्तीय सूचकमा सुधार देखिए पनि केही ठूला कम्पनीको नाफामा आएको गिरावटले समग्र नाफा घटेको देखिएको छ ।

नाफा रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले गत आवमा ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ०.१६ प्रतिशत बढी हो ।

यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आवको ५७ करोड १ लाख रुपैयाँको तुलनामा २.१८ प्रतिशत बढेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा भने १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.८४ प्रतिशत कम हो ।

एशियन लाइफ इन्स्योरेन्सले गत आवमा ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा १.१९ प्रतिशत बढेको हो । एनआईसी एशिया लाइफ इन्स्योरेन्सको नाफा भने २८ प्रतिशतले वृद्धि भएर ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

नाफा वृद्धिदरका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले गत आवमा ३९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा १०६.६३ प्रतिशत बढी हो । कम्पनीको नाफा वृद्धिदर अन्य जीवन बीमा कम्पनीको तुलनामा उल्लेख्य रहेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा १.६९ प्रतिशत बढेर ३८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ ।

मेट लाइफको नाफामा भने ठूलो गिरावट आएको छ । कम्पनीको नाफा ५५ प्रतिशत घटेर ३७ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा १.३१ प्रतिशत बढी हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशत घटेर ३७ करोड ६ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१ प्रतिशत घटेर ३१ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने गत आवमा घाटामा गएको छ । कम्पनीले २ करोड ३८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई थप सक्रिय बनाउने, व्यवसाय विस्तार गर्ने तथा व्यवस्थापनमा सुधार गर्ने प्रयास गरे पनि समग्र नाफामा भने दबाब देखिएको छ ।

विशेषगरी केही ठूला कम्पनीको नाफामा आएको कमीका कारण समग्र जीवन बीमा क्षेत्रको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो । तथापि, सिटिजन लाइफलगायत केही कम्पनीले उल्लेख्य नाफा वृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको वित्तीय विवरणले देखाएको छ ।

1

Scroll to Top