भाटभटेनी सुपर स्टोरले आफ्ना स्टोरहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट भदौ १ सोमबारबाट सुरु हुने भएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार, भदौ १ गतेदेखि औपचारिक रुपमा स्टोर २४सै घण्टा खुला गर्ने तयारी गरिएको हो । अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको छ । २४सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ । त्यसो हुँदा केही समयपछि ग्राहकलाई राति १० बजेसम्म सेवा प्रदान गर्न सकिने बताइएको छ ।
उनका अनुसार रातको समयमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको छ । जसले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । त्यो उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको हो ।
भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गत वर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् ।
भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटनलगायतका स्टोर पनि २४ सै घण्टा खुला गरिनेछ । त्यसपछि पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख सहरका स्टोर पनि त्यसैगरी खुला राखिने भाटभटेनीले जनाएको छ ।

