Banijya News

आवश्यक ग्यास मौज्दातलाई अस्वाभाविक भन्न नमिल्ने चेम्बरको स्पष्टोक्ति

1
1.0K Shares

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे होटलमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको भन्ने टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा हालै पाँचतारे याडिसन होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी रहेको भनी गरिएको टिप्पणीप्रति चेम्बरले आपत्ति जनाएको हो ।

चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डरसम्म खपत हुने गर्छ । यस्तो अवस्थामा करिब २०० सिलिन्डर मौज्दात रहनुलाई अस्वाभाविक मान्न नहुने चेम्बरको भनाइ छ ।

व्यावसायिक सञ्चालनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नहुने उसले जनाएको छ ।

होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गरिनु निजी क्षेत्रसँगै समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले स्पष्ट पारेको छ । उसले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने पनि जनाएको छ ।

वैध व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने गरी हुने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने चेम्बरको भनाइ छ । होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योगमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए सरकारी निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।

चेम्बरले व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएको छ । तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने उसको धारणा छ ।

1

Scroll to Top