उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत १५ कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीले ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
वित्तीय विवरणअनुसार १५ कम्पनीमध्ये १२ कम्पनी नाफामा छन् भने तीन कम्पनीले घाटा व्यहोरेका छन् । समग्र नाफा बढे पनि अधिकांश कम्पनीको व्यक्तिगत नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।
समूहको नाफा बढ्नुमा सोनापुर मिनरल्स एन्ड आयलको नाफामा भएको उल्लेख्य सुधार र अघिल्लो आवमा घाटामा रहेको बोटलर्स नेपाल यसपटक नाफामा फर्किनु मुख्य कारण देखिएको छ । यद्यपि, कम्पनीगत वित्तीय अवस्था हेर्दा उत्पादन तथा प्रशोधन क्षेत्र अझै दबाबमा रहेको देखिन्छ ।
गत आवमा ओम मेगाश्री फर्मास्युटिकल्स, सागर डिष्टिलरी र घोराही सिमेन्ट घाटामा रहेका छन् । सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हिमालयन डिष्टिलरी बनेको छ। कम्पनीले १ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा २८.१४ प्रतिशत बढी हो ।
यसैगरी युनिलिभर नेपाल, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको नाफा घटेको छ । यीमध्ये पाल्पा सिमेन्टको नाफा सबैभन्दा धेरै ५९ प्रतिशतले घटेको छ ।
उत्पादन लागत वृद्धि, कच्चा पदार्थको मूल्यवृद्धि, बजार मागमा अनिश्चितता, उच्च ब्याजदर र बढ्दो सञ्चालन खर्चले कम्पनीहरूको नाफामा दबाब सिर्जना गरेको छ । ठूलो लगानी आवश्यक पर्ने यस क्षेत्रमा ऋण तथा ब्याज खर्चसमेत चुनौती बनेको छ ।
बजार प्रतिस्पर्धा बढ्दै जाँदा बिक्री र मूल्य निर्धारणमा देखिएको दबाबले पनि वित्तीय प्रदर्शन प्रभावित भएको छ । यस्तो अवस्थामा लागत नियन्त्रण, उत्पादन क्षमता वृद्धि, बजार विस्तार र प्रभावकारी वित्तीय व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।


