Banijya News

विद्युत् व्यापार बढे पनि प्राधिकरणको नाफामा संकुचन

1
1.0K Shares

विद्युत् व्यापार बढाउँदै लगेको नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा भने नाफामाथिको दबाब बढ्दै गएको देखिएको छ । विद्युत् बिक्री र निर्यातबाट आम्दानी बढे पनि सञ्चालन खर्च, विद्युत् खरिद लागत तथा अन्य वित्तीय दायित्व बढ्दा प्राधिकरणको नाफा लगातार घटेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४३ प्रतिशत कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । प्राधिकरणको नाफा एक वर्षमै ३ अर्ब ८७ करोड रुपैयाँले घटेको तथ्यांक छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट मात्रै १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसमध्ये भारतलगायत बाह्य बजारमा विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो । अन्य स्रोतबाट प्राप्त आम्दानीसमेत जोड्दा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो ।

तर, सोही अवधिमा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । आम्दानीको ठूलो हिस्सा सञ्चालन तथा विद्युत् खरिदमा खर्च हुँदा विद्युत् व्यापार विस्तारअनुसार नाफा बढ्न नसकेको देखिन्छ ।

प्राधिकरणको सञ्चालन खर्चसमेत बढिरहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन खर्च १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।

यसरी विद्युत् खरिद, सञ्चालन, ब्याज तथा अन्य खर्च बढ्दै जाँदा बिक्रीबाट प्राप्त आम्दानीको वृद्धिले खर्चको दबाबलाई पूर्ण रूपमा सन्तुलन गर्न सकेको छैन ।

प्राधिकरणको खर्च संरचनामा विद्युत् खरिद सबैभन्दा ठूलो भारका रूपमा देखिएको छ । उक्त आर्थिक वर्षमा विद्युत् खरिदमा मात्रै ७७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.७३ प्रतिशत बढी हो। उत्पादन र मागबीचको अन्तर पूरा गर्न निजी क्षेत्रलगायत विभिन्न स्रोतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थाले प्राधिकरणको लागत बढाएको देखिन्छ ।

यसको प्रत्यक्ष प्रभाव नाफामा परेको छ । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा १४ अर्ब ४७ करोड रुपैयाँ थियो । अर्थात् एक वर्षमै करअघिको नाफा ३७.३२ प्रतिशतले घटेको हो ।

विद्युत् निर्यात बढ्नु प्राधिकरणका लागि सकारात्मक पक्ष भए पनि निर्यात आम्दानीले मात्रै समग्र नाफा वृद्धि सुनिश्चित गर्न सकेको छैन । विद्युत् उत्पादन, आन्तरिक माग, निजी क्षेत्रबाट खरिद, सञ्चालन खर्च र वित्तीय दायित्वबीच सन्तुलन कायम गर्नु प्राधिकरणका लागि चुनौती बन्दै गएको छ ।

लगातार दुई आर्थिक वर्ष नाफा घटेपछि अब प्राधिकरणका लागि विद्युत् बिक्री विस्तारसँगै लागत नियन्त्रण महत्वपूर्ण बनेको छ । विशेषगरी विद्युत् खरिद लागत घटाउने, सञ्चालन खर्च व्यवस्थापन गर्ने तथा वित्तीय दायित्वलाई प्रभावकारी रूपमा परिचालन गर्ने रणनीति अपनाउनुपर्ने देखिएको छ ।

1

Scroll to Top