जलविद्युत् कम्पनीहरूको नाफामा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १११ सूचीकृत जलविद्युत् कम्पनीहरूमध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०८ कम्पनीले ११ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२४.७४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा सूचीकृत हाइड्रोपावरले १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका थिए ।
विद्युत् उत्पादनमा भएको वृद्धि र बैंकको ब्याजदर घट्दा वित्तीय लागत कम भएका कारण हाइड्रोपावर कम्पनीहरूको नाफामा यस्तो उत्साहजनक उछाल आएको हो । साथै, आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुनु, जलप्रवाह अनुकूल रहनु तथा नयाँ आयोजनाबाट विद्युत् उत्पादन थपिनुका कारण आम्दानीमा वृद्धि भएको देखिन्छ ।
गत वर्षको विवरणअनुसार ८० वटा हाइड्रोपावर कम्पनीहरु नाफामा छन् भने २८ वटा नोक्सानीमा रहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने प्रमुख कम्पनीहरू र तिनको नाफाको अवस्था हेर्ने हो भने साहस ऊर्जाले सर्वाधिक नाफा कमाउन सफल भएको छ । साहस ऊर्जाले सर्वाधिक १ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाउँदै पहिलो स्थानमा रहन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८९ करोड ५१ लाख रुपैयाँ थियो । यसअनुसार साहस ऊर्जाको नाफा करिब ५२ प्रतिशतले बढेको देखिन्छ ।
यसैगरी, सोलु हाइड्रोपावरले गत आवमा १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८३ करोड २३ लाख रुपैयाँ थियो ।
गत आवमा माण्डु हाइड्रोपावरको नाफामा सबैभन्दा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको नाफा गत आर्थिक वर्षमा बढेर ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालले ७९ करोड ७० लाख, चिलिमे हाइड्रोपावरले ७२ करोड १ लाख र सानिमा मिडिल तमोरले ६२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यसैगरी, ग्रिन भेन्चर्सले ४४ करोड ४७ लाख नाफा आर्जन गरेको छ । सुपर मादी हाइड्रोपावरले ११ करोड २८ लाखबाट उल्लेख्य वृद्धि गरी ४२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरले २९ करोड ३५ लाख र सानिगाड हाइड्रोले २६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि सानिगाड हाइड्रोको नाफा ५ करोड ४२ लाख रुपैयाँ रहेको थियो । श्वेतगंगा हाइड्रोपावरको नाफा १७ लाख ९९ हजार रुपैयाँ मात्र रहेको नाफामा ठूलो उछाल ल्याउँदै १७ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा अघिल्लो वर्ष ६ करोड १९ लाख रुपैयाँ रहेकोमा यस वर्ष ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
मध्य भोटेकोशी जलविद्युतले गत आवमा १६ करोड ९५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले १३ करोड ७८ लाख ९० हजार रुपैयाँ, हिमालयन हाइड्रोपावरले ८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उता, चिरख्वा हाइड्रोपावरले अघिल्लो वर्षको तुलनामा सुधार गर्दै ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको नाफामा १५३.४४ प्रतिशतको वृद्धिसँगै १ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनीले गत आर्थिक वर्षमा नाफा कमाउन सफल भएका छन् । सान्जेन जलविद्युत् कम्पनी अघिल्लो वर्ष २७ करोड ८९ लाख रुपैयाँ घाटामा रहेकोमा गत आर्थिक वर्षमा ८ करोड २० लाख रुपैयाँ नाफामा फर्किएको छ ।
त्यस्तै, भिजन लुम्बिनी ऊर्जा कम्पनी १० करोड ६ लाख रुपैयाँ घाटाबाट ९ करोड ५ लाख रुपैयाँ नाफामा पुगेको छ । पाँचथर पावर ६ करोड १७ लाख रुपैयाँ घाटाबाट ८ करोड ५२ लाख रुपैयाँ नाफामा पुगेको छ । पञ्चकन्या माई हाइड्रोपावर ६ करोड ८६ लाख रुपैयाँ घाटाबाट ६ करोड ६८ लाख रुपैयाँ नाफामा फर्किएको छ । माया खोला हाइड्रोपावर पनि ६ करोड ३६ लाख रुपैयाँ घाटाबाट १ करोड ५९ लाख रुपैयाँ नाफामा पुगेको छ ।
घाटामा रहेका वा नोक्सानी व्यहोरेका केही कम्पनीहरूको नाफा उच्च बढे पनि बाढीपहिरो, प्राकृतिक प्रकोप र प्रसारण लाइनको समस्याका कारण केही कम्पनीहरू अझै नोक्सानीमा रहेका छन् ।
रसुवागढी हाइड्रोपावरले यस अवधिमा सबैभन्दा धेरै १ अर्ब ४४ करोड रुपैयाँ खुद नोक्सानी (घाटा) व्यहोरेको छ । अघिल्लो वर्ष आएको बाढीका कारण आयोजनामा क्षति हुँदा यसको नोक्सानी बढेको हो । आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ । अघिल्लो असार अन्तिम साता आएको बाढीले क्षति पुगेका कारण रसुवागढी हाइड्रोपावरको विद्यतु उत्पादन प्रभावित भएको थियो । त्यतिखेर आधा दर्जन जलविद्युत अयोजनामा क्षति पुगेको थियो । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनी बाढीका कारण आयोजनामा पुगेको क्षति र मर्मत खर्च बढेकाले २ करोड २९ लाख रुपैयाँ खुद घाटामा रहेको छ ।
यसैगरी, शिवश्री हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, अपर लोहोर खोला हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, अपोलो हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्टलगायतका कम्पनीहरु घाटामा रहेका छन् ।
गत वर्ष जलविद्युत् आयोजनाहरूमा पानीको उपलब्धता तुलनात्मक रूपमा राम्रो हुनु, उत्पादन क्षमता बढ्नु, विद्युत् बिक्री विस्तार हुनु तथा वित्तीय लागत घट्नुले कम्पनीहरूको नाफामा उल्लेख्य सुधार भएको देखिन्छ । पछिल्ला वर्षमा निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गरेका आयोजनाको योगदानसमेत वित्तीय विवरणमा देखिन थालेपछि जलविद्युत् क्षेत्रको समग्र आम्दानी र नाफा बढेको हो ।


