Banijya News

निर्जीवन बीमाको प्रतिशेयर आम्दानी घट्यो, प्रभु इन्स्योरेन्सको ईपीएस मात्र सुधार

1
1.0K Shares

शेयर बजारमा कम्पनीको वित्तीय अवस्था र नाफाको गुणस्तर मूल्यांकन गर्न प्रतिशेयर आम्दानी (ईपीएस) लाई महत्वपूर्ण सूचक मानिन्छ । त्यसैले, कम्पनीको कुल नाफासँगै प्रतिशेयर आम्दानीलाई पनि कम्पनीको वित्तीय अवस्था मापन गर्ने महत्वपूर्ण आधारका रूपमा हेर्ने गरिन्छ ।

गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण हेर्ने हो भने नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूको प्रतिशेयर आम्दानीमा उल्लेख्य दबाब परेको देखाएको छ । सार्वजनिक विवरणअनुसार सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये ११ कम्पनीको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । प्रभु इन्स्योरेन्सको ईपीएस मात्र बढेको पाइएको छ ।

१२ कम्पनीको औसत प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो औसत २७ रुपैयाँ ६५ पैसा थियो । यस आधारमा एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको औसत ईपीएस १० रुपैयाँ १५ पैसाले घटेको छ । यसले कम्पनीहरूको नाफा र शेयर संख्याको अनुपातबाट प्राप्त हुने प्रतिफल क्षमतामा समग्र गिरावट आएको संकेत गर्छ ।

ईपीएसका आधारमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि छ । कम्पनीको प्रतिशेयर आम्दानी असार मसान्तसम्म १२९ रुपैयाँ १८ पैसा रहेको छ । अघिल्लो वर्ष १६० रुपैयाँ ३८ पैसा रहेको ईपीएस यसपटक ३१ रुपैयाँ २० पैसाले घटेको हो । यद्यपि गिरावटका बाबजुद कम्पनीको ईपीएस अन्य निर्जीवन बीमा कम्पनीको तुलनामा निकै उच्च छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको ईपीएस १३ रुपैयाँ ५१ पैसा छ । अघिल्लो वर्ष २१ रुपैयाँ २९ पैसा रहेको ईपीएस ७ रुपैयाँ ७८ पैसाले घटेको हो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ईपीएस ११ रुपैयाँ ९४ पैसा कायम भएको छ । अघिल्लो वर्ष १५ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको ईपीएस ३ रुपैयाँ ४३ पैसाले घटेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा रहेको छ । अघिल्लो वर्ष २६ रुपैयाँ ९३ पैसा रहेको ईपीएस यस वर्ष १५ रुपैयाँ २८ पैसाले घटेको हो । यसले कम्पनीको प्रतिशेयर नाफामा उल्लेख्य दबाब देखिएको छ ।

यसैबीच, प्रभु इन्स्योरेन्स भने ईपीएस बढाउने एकमात्र कम्पनी बनेको छ । कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको ११ रुपैयाँ १३ पैसाबाट बढेर १३ रुपैयाँ ३३ पैसा पुगेको छ । एक वर्षमा कम्पनीको ईपीएस २ रुपैयाँ २० पैसाले बढेको हो ।

नेको इन्स्योरेन्सको ईपीएस १० रुपैयाँ ४० पैसा छ । अघिल्लो वर्ष २३ रुपैयाँ १ पैसा रहेको ईपीएस १२ रुपैयाँ ६१ पैसाले घटेको हो । त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको ईपीएस ५ रुपैयाँ ७६ पैसा रहेको छ, जुन अघिल्लो वर्षको १५ रुपैयाँ ६६ पैसाभन्दा ९ रुपैयाँ ९० पैसा कम हो ।

नेपाल इन्स्योरेन्सको ईपीएस ५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको ईपीएस ११ रुपैयाँ ७४ पैसाले घटेको हो । त्यस्तै, शिखर इन्स्योरेन्सको ईपीएस ४ रुपैयाँ १९ पैसा रहेको छ । अघिल्लो वर्षको १५ रुपैयाँ ५० पैसाको तुलनामा यसमा ११ रुपैयाँ ३१ पैसाको गिरावट आएको छ ।

यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सको ईपीएस २ रुपैयाँ ७३ पैसा रहेको छ । अघिल्लो वर्ष ७ रुपैयाँ ७१ पैसा रहेकोमा ४ रुपैयाँ ९८ पैसाले घटेको हो । एनएलजी इन्स्योरेन्सको ईपीएस २ रुपैयाँ १७ पैसा रहेको छ, जुन अघिल्लो वर्षको ५ रुपैयाँ ९८ पैसाभन्दा ३ रुपैयाँ ८१ पैसा कम हो ।

सबैभन्दा कमजोर ईपीएस आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा मात्र रहेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ५ पैसा रहेको ईपीएस यसपटक ११ रुपैयाँ ९२ पैसाले घटेको हो ।

यसरी हेर्दा निर्जीवन बीमा कम्पनीहरूको ईपीएसमा आएको गिरावटले समग्र क्षेत्रको प्रतिशेयर नाफा क्षमतामा दबाब देखिएको छ । लगानीकर्ताले कम्पनी छनोट गर्दा ईपीएससँगै नाफाको वृद्धि, शेयर संख्या, लाभांश क्षमता, बीमा व्यवसायको विस्तार र वित्तीय जोखिमलगायत पक्षलाई समेत समग्र रूपमा मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

1

Scroll to Top