Banijya News

करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको उत्साहपूर्ण सहभागिता

1
1.0K Shares

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज भदौ १ गते सोमबार घोषणा हुँदैछ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछन् ।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उछाल आएको छ ।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन् । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।

यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।

विभागका अनुसार, पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

1

Scroll to Top