३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । उनले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट उक्त रकमको सामान किनेका थिए ।
साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन् । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाएका छन् ।
सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गरिएको हो ।
दोस्रो पाक्षिकमा छनोट भएका १६ जना विजेतालाई प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । २५ प्रतिशत कर कट्टीपछि उनीहरूले खुद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नगद कारोबारतर्फ मात्रै ३ लाख ५७ हजार १४९ वटा बिल उपहार योजनाका लागि दर्ता भएका थिए । साउनको पहिलो १५ दिनमा यस्तो बिल दर्ता गर्नेको संख्या ७ हजार ७७ मात्रै थियो ।
यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ । पछिल्लो १७ दिनमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको विभागले जनाएको छ ।


