काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो सो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीका अधिकांश तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाको स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो सो १८औँ संस्करण हो। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्तीको अवसरमा आयोजना हुने भएकाले यसपटकको प्रदर्शनी विगतका संस्करणभन्दा विशेष र आकर्षक हुने बताए। उनका अनुसार प्रदर्शनीमा नेपालमा उपलब्ध नयाँ सवारीसाधन, प्रविधि तथा अटोमोबाइल क्षेत्रका नवीन उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।
कार्यक्रम संयोजक अनुप बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्। ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने अटो सोले अटोमोबाइल व्यवसायको विस्तारसँगै नयाँ व्यावसायिक सम्बन्ध र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बरालका अनुसार प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा प्यासेन्जर कमर्सियल भेइकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यसैगरी १० वटा वित्तीय संस्था तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा तथा उत्पादनसम्बन्धी स्टल रहनेछन्। टायर, लुब्रिकेन्ट्स तथा अटोमोबाइलसँग सम्बन्धित अन्य सेवाका प्रदर्शकहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
यस प्रदर्शनीको विशेष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। छ दिनसम्म सञ्चालन हुने अटो सोमा सवारीसाधन तथा पार्टपुर्जाको प्रदर्शनसँगै अटोमोबाइल क्षेत्रबारे जानकारीमूलक विभिन्न कार्यक्रमसमेत आयोजना गरिनेछ।
नाडाका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु हो। यसबाट उपभोक्ताले बजारमा उपलब्ध नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। साथै उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच व्यावसायिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ।
हरेक वर्ष दशैंअघि आयोजना हुँदै आएको नाडा अटो सोमा यसपटक पनि ठूलो संख्यामा सर्वसाधारण, अटोमोबाइल व्यवसायी, लगानीकर्ता तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागिता हुने आयोजकको अनुमान छ।
नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) तर्फ तीव्र रूपमा विस्तार भइरहेका बेला आयोजना हुन लागेको यस वर्षको अटो सोलाई नयाँ प्रविधि, नयाँ ब्रान्ड र बदलिँदो बजार प्रवृत्तिको प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। स्वर्ण जयन्ती विशेष संस्करण भएकाले यसले नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, सम्भावना र आगामी दिशाबारे समेत महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।


