अर्थमन्त्रालयका सह सचिव तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष मदन दाहालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । विशेष अदालतमा हिजो सोमबार उपस्थित भएका दाहालको निवेदनमाथि भएको थुनछेक बहसपछि धरौटीमा रिहा गरी तारखेमा बसेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिइएको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै उनी हिजै रिहा भएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद बिक्रीमा नियामकीय नेतृत्वले आफ्नो अधिकार प्रयोग गर्न चुकेको सिआईबीको अनुसन्धानबाट खुलेको बताइएको छ । सोही आरोपमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अभियुक्त बनाएर विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
गत जेठ २८ मा दर्ता भएको ०८२ सिआर ०१५४ को मुद्दामा दाहाललाई फरार अभियुक्त बनाएर अभियोगपत्र दायर गरिएको थियो । मुद्दा दायर भए लगत्तै निलम्बित बनेका दाहाल हिजो आफैँ उपस्थित भएका हुन् ।


