Banijya News

उत्पादनमूलक कम्पनीले कमाए पौने छ अर्ब, केही कम्पनीको प्रदर्शन अझै कमजोर

1
1.0K Shares

उत्पादन तथा प्रशोधन समूहमा रहेका कम्पनीले पौने ६ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन् । उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत १५ कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीले ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

वित्तीय विवरणअनुसार १५ कम्पनीमध्ये १२ कम्पनी नाफामा छन् भने तीन कम्पनीले घाटा व्यहोरेका छन् । समग्र नाफा बढे पनि अधिकांश कम्पनीको व्यक्तिगत नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । विशेषगरी युनिलिभर नेपाल र सर्वोत्तम सिमेन्टले अघिल्लो वर्षको तुलनामा नाफा घटाएका छन् । तर, पाल्पा सिमेन्टको नाफा सबैभन्दा धेरै घटेको पाइएको छ । अर्कोतर्फ, हिमालयन डिस्टिलरी, सर्वोत्तम सिमेन्ट, बोटलर्स नेपाल, सोनापुर मिनरल्स एन्ड आयललगायतका कम्पनीले उल्लेख्य नाफा कमाएका छन् ।

यी कम्पनीमध्ये युनिलिभर नेपालले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको तुलनामा १८ दशमलव १९ प्रतिशत कम हो । नाफा घटे पनि युनिलिभर नेपालको प्रतिशेयर आम्दानी ४२४ रुपैयाँ रहेको छ, जुन समूहका सबै कम्पनीमध्ये उच्च हो ।

यसैगरी, हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षमा १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २८.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९४ करोड १४ लाख ४६ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।

सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो । सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, गत आवमा शिवम् सिमेन्टको नाफामा सामान्य गिरावट आएको देखिएको छ । गत आवमा शिवम्‌ले ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा उक्त कम्पनीको नाफा ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यस आधारमा शिवम्‌को नाफामा १.७२ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३ पैसा रहेको छ ।

उता, बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्षमा ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको थियो । घाटाबाट नाफामा फर्किएको बोटलर्स नेपालको वित्तीय सुधार उल्लेख्य रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५४५ रुपैयाँ रहेको छ, जुन युनिलिभर नेपालको भन्दा पनि उच्च हो ।

यसैगरी, गत आवमा रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड ९० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष कम्पनीको नाफा १६ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४ पैसा रहेको छ ।

गत आवमा सोनापुर मिनरल्स एन्ड आयलको नाफामा उछाल आएको छ । उक्त कम्पनीले एक वर्षमै ६१३.५४ प्रतिशत नाफा बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको नाफा ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्र थियो । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, एसवाई प्यानल नेपालले गत आर्थिक वर्षमा ६ करोड ७५ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड ६७ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा १.०८ प्रतिशतले बढेको छ ।

गत आवमा पाल्पा सिमेन्टको नाफामा ठूलो गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ५९ प्रतिशतले घटेको देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, एभरेस्ट कलरले गत आर्थिक वर्षमा २ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १२ लाख १६ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ४.३१ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा रहेको छ ।

गत आवमा सर्वोत्तम पेन्ट्सको नाफा पनि घटेको छ । गत आर्थिक वर्षमा १ करोड ७१ लाख ५२ हजार रुपैयाँ मात्र कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ९३ लाख ४१ हजार रुपैयाँ थियो । यस वर्ष नाफा ११.३२ प्रतिशतले घटेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६० पैसा रहेको छ ।

उता, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले गत आर्थिक वर्षमा १ करोड ६२ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ५८ लाख ९६ हजार रुपैयाँ थियो । गत आवमा १.९९ प्रतिशतले नाफा बढाएको उक्त कम्पनीको ईपीएस १ रुपैयाँ ३३ पैसा रहेको छ ।

उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा रहेका छन् । ओम मेगाश्री फर्मास्युटिकल्सले गत आर्थिक वर्षमा ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ४ करोड ९ लाख ६९ हजार रुपैयाँ थियो । घाटा केही कम गरे पनि ईपीएस ऋणात्मक ६ रुपैयाँ २९ पैसा रहेको छ ।

गत आवमा सागर डिस्टिलरीको घाटा अझै बढेको पाइएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ थियो । कम्पनीको ईपीएस ऋणात्मक ७ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी, घोराही सिमेन्ट पनि घाटामा रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ८० लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको घाटा ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ थियो । यस आधारमा कम्पनीको घाटा उल्लेख्य रूपमा घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ १३ पैसा रहेको छ ।

उत्पादन लागत वृद्धि, कच्चा पदार्थको मूल्यवृद्धि, बजार मागमा अनिश्चितता, उच्च ब्याजदर र बढ्दो सञ्चालन खर्चले कम्पनीहरूको नाफामा दबाब सिर्जना गरेको छ । ठूलो लगानी आवश्यक पर्ने यस क्षेत्रमा ऋण तथा ब्याज खर्चसमेत चुनौती बनेको छ ।

बजार प्रतिस्पर्धा बढ्दै जाँदा बिक्री र मूल्य निर्धारणमा देखिएको दबाबले पनि वित्तीय प्रदर्शन प्रभावित भएको छ । यस्तो अवस्थामा लागत नियन्त्रण, उत्पादन क्षमता वृद्धि, बजार विस्तार र प्रभावकारी वित्तीय व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।

1

Scroll to Top