Banijya News

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साढे दश प्रतिशत लाभांश घोषणा

1
1.0K Shares

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आवका लागि सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस शेयर र नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको भदौ १ गते सोमबार बसेको ३९७औं सञ्चालक समिति बैठकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये बैंकले ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । यसअनुसार १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस सेयर वितरण हुनेछ ।

साथै, बैंकले ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांश बापत २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँ वितरण हुनेछ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ । बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिले प्रस्तावित लाभांशसहितका वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुने बैंकले जनाएको छ ।

1

Scroll to Top