एनसेलले नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गर्दै बीवाईडीका सवारीसाधनमा कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने भएको छ ।
यो सहकार्यसँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान हुने भएको हो । यो साझेदारीले नेपालमा आईओटी तथा कनेक्टेड प्रविधिको प्रयोग विस्तार गर्न सहयोग पुग्ने एनसेलले जनाएको छ ।
सवारीसाधनमा आईओटी सिम जडान भएपछि अतिरिक्त उपकरण प्रयोग नगरी इन–भेइकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ । यसले बीवाईडीको एप इकोसिस्टम, कनेक्टेड इन्फोटेनमेन्ट तथा अन्य डिजिटल सुविधालाई सहज रूपमा सञ्चालन गर्न सहयोग गर्नेछ ।
नयाँ प्रणालीमार्फत प्रयोगकर्ताले मोबाइल फोन कनेक्ट नगरी वा छुट्टै वाई–फाई हटस्पटमा निर्भर नभई सवारीसाधनको सिस्टमबाटै विभिन्न अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । युट्युब, स्पोटिफाइ, काराओकेलगायतका डिजिटल मनोरञ्जन सेवासहित सवारीसाधनमा उपलब्ध विभिन्न कनेक्टेड सुविधाको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यस्ता सुविधाको उपलब्धता भने सवारीसाधनको मोडल, सफ्टवेयर संस्करण तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक पर्न सक्नेछ । आईओटी सिममार्फत एनसेलको देशव्यापी मोबाइल नेटवर्कबाट कनेक्टिभिटी उपलब्ध हुने भएकाले प्रयोगकर्ताले यात्राका क्रममा इन्टरनेटमा आधारित सेवा प्रयोग गर्न सक्नेछन् । यद्यपि नेटवर्क कभरेज, स्थान र सवारीसाधनको कन्फिगरेसनअनुसार प्रयोगकर्ताको अनुभव फरक हुन सक्नेछ ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा विस्तार गर्ने बताए । उनका अनुसार प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध भएपछि प्रयोगकर्ताले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई विभिन्न कनेक्टेड सेवा प्रयोग गर्न सक्नेछन् । स्थानीय मोबाइल नेटवर्कमा जोडिँदा नेभिगेसनलगायतका कनेक्टेड सुविधालाई थप भरपर्दो बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ ।
यो सुविधा बीवाईडीका नयाँ ग्राहकमा मात्र सीमित रहने छैन । यसअघि नै बीवाईडीका सवारीसाधन खरिद गरिसकेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो सवारीसाधनमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन् । त्यसपछि सम्बन्धित सवारीसाधनमा उपलब्ध सुविधाअनुसार कनेक्टेड सेवा प्रयोग गर्न सकिनेछ ।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडीले प्राविधिक नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताउँदै एनसेलसँगको सहकार्यले ग्राहक अनुभवलाई थप उन्नत बनाउने बताए । उनका अनुसार भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका इन्टेलिजेन्ट सुविधालाई पूर्ण रूपमा प्रयोग गर्न ग्राहकलाई सहज बनाउनेछ ।
कम्पनीका अनुसार ग्राहकअनुसारको कनेक्टिभिटी प्लान, सेवा अवधि र शुल्क भने सवारीसाधन तथा सम्बन्धित सेवा प्याकेजमा निर्भर हुनेछ । यस साझेदारीसँगै नेपालमा विद्युतीय सवारीसाधन र दूरसञ्चार प्रविधिबीचको सहकार्य विस्तार हुँदै गएको छ, जसले आगामी दिनमा सवारीसाधनलाई थप डिजिटल र कनेक्टेड बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।


