सरकारले संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्रीको नीतिगत मार्गदर्शनअनुसार अर्धमासिक भुक्तानी प्रणाली लागू गर्न सम्बन्धित सरकारी कार्यालयलाई निर्देशन दिएको हो ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा स्रोत व्यवस्थापन शाखाले जारी गरेको परिपत्रमा संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब, भत्ता तथा बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाइएको उल्लेख छ ।
कार्यालयले सम्बन्धित निकायबाट कर्मचारीको तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भई आएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्यालयलाई परिपत्रअनुसार व्यवस्था कार्यान्वयन गर्न पनि महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ ।
यस व्यवस्थासँगै संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले हाल कायम रहेको मासिक तलब भुक्तानी प्रणालीको सट्टा अर्धमासिक रूपमा पारिश्रमिक पाउने बाटो खुलेको छ । अर्धमासिक भुक्तानी प्रणाली लागू भएपछि कर्मचारीले महिनाको १५ दिनपछि पहिलो चरणको तलब तथा बाँकी अवधिको रकम अर्को चरणमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, महालेखा नियन्त्रक कार्यालयले जारी गरेको पत्रमा अर्धमासिक तलब तथा भत्ता कुन–कुन मितिमा कर्मचारीको बैंक खातामा जम्मा हुने भन्ने स्पष्ट कार्यतालिका भने सार्वजनिक गरेको छैन । त्यसैले, व्यवहारमा भुक्तानीको मिति सम्बन्धित कार्यालयबाट हुने निकासा तथा लेखा प्रक्रियाअनुसार निर्धारण हुने देखिएको छ ।
सरकारले अर्धमासिक तलब भुक्तानीको व्यवस्था अघि बढाएसँगै कर्मचारीको नियमित आम्दानी व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । साथै, कर्मचारी प्रोत्साहन भत्तासमेत यसै प्रणालीअनुसार भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।


