वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको छ ।
पछिल्लो समय वेबसाइट, एप, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायत डिजिटल माध्यमबाट व्यापार गर्ने व्यवसायीको संख्या बढेसँगै त्यस्ता कारोबारविरुद्धका गुनासो पनि बढ्न थालेपछि विभागले कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न थालेको हो ।
विभागले जारी गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ तथा विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२ अनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ ।
ऐनको दफा ४ अनुसार विद्युतीय माध्यमबाट व्यापार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा ५ बमोजिम आफ्नो व्यवसाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा सूचीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको विभागले जनाएको छ ।
विभागका अनुसार ऐनको दफा २ को खण्ड (ज) ले वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायत विद्युतीय उपकरण तथा माध्यमबाट सूचना संकलन, सम्प्रेषण वा आदान–प्रदान गरी वस्तु वा सेवाको कारोबार गर्ने प्रयोजनका लागि बनाइएको प्रणालीलाई ई–कमर्स प्रणालीका रूपमा परिभाषित गरेको छ । त्यसैले, सामाजिक सञ्जालमार्फत मात्रै वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीसमेत कानुनी दायराभित्र पर्ने विभागको भनाइ छ ।
विभागले तोकिएको प्रक्रिया पूरा नगरी विद्युतीय प्लेटफर्ममार्फत व्यापार व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा प्रचलित अन्य कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
ई–कमर्स कारोबार बढ्दै जाँदा उपभोक्ताले वस्तु तथा सेवाको गुणस्तर, मूल्य, भुक्तानी र डेलिभरीलगायत विषयमा गुनासो गर्ने क्रम पनि बढेको छ । यस्तो अवस्थामा व्यवसायीलाई कानुनी दायरामा ल्याई कारोबारलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सूचीकृतको व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले विद्युतीय माध्यम तथा प्लेटफर्मबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई कानुनी व्यवस्था पालना गर्दै निर्धारित प्रक्रिया पूरा गरी अनिवार्य रूपमा विभागमा सूचीकृत हुन पुनः आग्रह गरेको छ ।


