Banijya News

निर्जीवन बीमाको दाबी फछ्र्यौट बाँकी ७.३९ प्रतिशतले बढ्यो, कुन कम्पनीको बाँकी कति ?

1
1.0K Shares

निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीमा एक लाखभन्दा बढी बीमा दाबी फछ्र्योट हुन बाँकी रहेको देखिएको छ । कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म ती कम्पनीमा कुल १ लाख ४ हजार ७४८ वटा दाबी फछ्र्योट हुन बाँकी रहेका छन् ।

बाँकी दाबीको यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७ दशमलव ३९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीमा ९७ हजार ५३८ वटा दाबी फछ्र्योट हुन बाँकी थिए । एक वर्षमा बाँकी दाबीको संख्या ७ हजार २१० वटाले बढेको हो ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बाँकी दाबीको संख्या सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको रहेको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म शिखर इन्स्योरेन्समा १४ हजार ९९३ वटा दाबी फछ्र्योट हुन बाँकी छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीमा १२ हजार ५०७ वटा दाबी बाँकी रहेकामा यस वर्ष १९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।

त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ११ हजार ६४८ वटा दाबी फछ्र्योट हुन बाँकी छन् । अघिल्लो वर्ष १२ हजार ५२३ वटा दाबी बाँकी रहेकामा यस वर्ष संख्या ६ दशमलव ९९ प्रतिशतले घटेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ११ हजार २५९ वटा दाबी बाँकी छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ११ हजार ४९७ वटा थियो । अघिल्लो वर्षको तुलनामा सिद्धार्थ प्रिमियरको बाँकी दाबी भुक्तानी यस वर्ष केही घटेको देखिन्छ ।

त्यस्तै, नेको इन्स्योरेन्समा १० हजार ९०६, हिमालयन एभरेस्ट इन्स्योरेन्समा ९ हजार ६४० र युनाइटेड अजोड इन्स्योरेन्समा ९ हजार ४९८ वटा दाबी फछ्र्योट हुन बाँकी छन् ।

उता, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७ हजार ८९७, एनएलजी इन्स्योरेन्समा ६ हजार ५६५ र राष्ट्रिय बीमा कम्पनीमा ५ हजार ९६४ वटा दाबी बाँकी छन् । नेपाल इन्स्योरेन्समा भने ५ हजार ८९८ वटा दाबी फछ्र्योट हुन बाँकी रहेको वित्तीय विवरणले देखाएको छ ।

नेपाल इन्स्योरेन्सको बाँकी दाबी संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीमा ४ हजार ४८९ वटा दाबी बाँकी रहेकामा यस वर्ष ३१ दशमलव ३९ प्रतिशतले बढेर ५ हजार ८९८ पुगेको हो । प्रतिशतका आधारमा बाँकी दाबी बढ्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्स अगाडि देखिएको छ ।

त्यसैगरी, सानिमा जिआइसी इन्स्योरेन्समा ५ हजार १२०, प्रभु इन्स्योरेन्समा १ हजार ९७० र नेसनल इन्स्योरेन्समा १ हजार ७५० वटा दाबी फछ्र्योट हुन बाँकी छन् । द ओरिएन्टल इन्स्योरेन्समा १ हजार ६४० वटा दाबी बाँकी छन् । अघिल्लो वर्षको १ हजार ६०३ वटाको तुलनामा यस वर्ष ओरिएन्टलको बाँकी दाबी २ दशमलव ३१ प्रतिशतले बढेको हो ।

समग्रमा, निर्जीवन बीमा कम्पनीहरूमा दाबीको संख्या बढ्दै जानुले दाबी व्यवस्थापन र फछ्र्योट प्रक्रियामा थप सुधारको आवश्यकता देखाएको छ । बीमितलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउन दाबी मूल्यांकन, कागजात परीक्षण तथा भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

1

Scroll to Top