वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा पनि उच्च देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् । गत असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएकोमा साउनमा यो संख्या १ हजार ७९ जनाले बढेको हो । यसले नेपालमा रोजगारीका पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीप्रतिको निर्भरता अझै उच्च रहेको देखाउँछ ।
विभागको तथ्यांकअनुसार, साउनमा पहिलोपटक वैदेशिक रोजगारीमा जान ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी, यसअघि वैदेशिक रोजगारीमा गएर पुनः रोजगारीका लागि विदेश जान २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कुल श्रम स्वीकृति लिनेको ठूलो हिस्सा नयाँ श्रमिकको रहेको तथ्यांकले देखाएको छ ।
गन्तव्य मुलुकतर्फ हेर्दा साउनमा सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैगरी, साउनमा म्यानपावर कम्पनीमार्फत २९ हजार ४४७ जनाले श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमार्फत १२ हजार ४४२ जना वैदेशिक रोजगारीमा जाने प्रक्रियामा सहभागी भएका छन् । सरकार–सरकारबीचको सम्झौता अर्थात् ‘जीटुजी’ प्रणालीमार्फत भने ७१२ जनाले श्रम स्वीकृति लिएका छन् ।
साउनमा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिनाको तुलनामा बढ्नुले वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै कायम रहेको देखाएको छ । स्वदेशमा रोजगारी सिर्जना र आयआर्जनका अवसर पर्याप्त विस्तार हुन नसक्दा ठूलो संख्यामा नेपाली श्रमिक विदेशिने क्रम निरन्तर रहेको छ । नयाँ श्रमिकसँगै पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या पनि उल्लेख्य रहेकाले वैदेशिक रोजगारी नेपाली श्रम बजारको महत्वपूर्ण हिस्सा बन्दै गएको देखिन्छ ।


