Banijya News

तरकारीको भाउमा अत्यधिक वृद्धि, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो

1
1.0K Shares

भान्सामा दैनिक प्रयोग हुने तरकारी तथा उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा आम उपभोक्ता चरम महँगीको मारमा परेका छन् । विशेषगरी तरकारी र फलफूलको मूल्यमा अत्यधिक वृद्धि भएको सरकारी अध्ययनले देखाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदनअनुसार बजारमा बिचौलियाको प्रभाव, उच्च ढुवानी लागत तथा उत्पादनमा आएको कमीका कारण उपभोग्य वस्तुको मूल्य बढेको हो ।

विभागले काठमाडौं उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीका बजार अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार वैशाखको तुलनामा असारमा तरकारी तथा फलफूलको मूल्यमा उच्च उतारचढाव देखिएको छ । सबैभन्दा धेरै सानो लोकल गोलभेडाको मूल्य २५३ प्रतिशतले बढेको छ ।

त्यस्तै, लामो भन्टा, बोडी, रायोको साग र हरियो धनियाँलगायतका तरकारीको मूल्य पनि १०० प्रतिशतभन्दा बढीले बढेको विभागले जनाएको छ । बेमौसमी उत्पादन र बजारमा रहेका बिचौलियाका तहका कारण तरकारीको मूल्य अत्यधिक बढेको प्रतिवेदनको निष्कर्ष छ ।

असारमा हरियो बुलेट खुर्सानीको मूल्य १७९.४ प्रतिशत, दशहरी आँपको १६० प्रतिशत, टनेलको सानो गोलभेडाको १५८.६ प्रतिशत र पिँडालुको मूल्य १५७ प्रतिशतले वृद्धि भएको छ ।

तरकारीसँगै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमा समेत वृद्धि भएको छ । असारमा सोना मन्सुली, जिरा मसिनोलगायत सबै प्रकारका चामल, अण्डा, केरा र चिनीको मूल्य बढेको विभागले जनाएको छ ।

यद्यपि, केही वस्तुको मूल्यमा भने उपभोक्ताले राहत पाएका छन् । आटा, मैदा, मकै र खाने तेलको मूल्य असारमा सामान्य घटेको छ ।

यसैगरी, बर्ड फ्लुको हल्लाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य घटेको विभागको भनाइ छ । खसीको मासु र माछाको मूल्यमा भने ठूलो परिवर्तन देखिएको छैन ।

विभागले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ । सिन्डिकेट, कार्टेलिङ र कालोबजारीमा ‘शून्य सहनशीलता’ अपनाउँदै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत विभागले दिएको छ ।

त्यस्तै, आयात तथा उत्पादन हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गराउने र बिचौलियाको तह घटाउन विशेष पहल गर्ने तयारी विभागको छ । बेमौसमी तरकारीको मूल्य नियन्त्रणका लागि कृषि उत्पादन प्रणालीमै सुधार आवश्यक रहेको सुझावसमेत प्रतिवेदनले दिएको छ ।

विभागका अनुसार बजारमा धेरै तहका बिचौलिया रहँदा उत्पादक किसानले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था छ । यससँगै उच्च ढुवानी भाडा र उत्पादनमा कमीले पनि बजार मूल्य बढाउन योगदान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भए पनि असारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्थिर थियो । पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ, डिजेल तथा मट्टितेल २२५ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँमा कारोबार भएको थियो । इन्धनको मूल्य स्थिर रहे पनि घट्न नसक्दा ढुवानी लागत उच्च भएको र त्यसको प्रत्यक्ष असर उपभोग्य वस्तुको मूल्यमा परेको विभागको दाबी छ ।

1

Scroll to Top