नेपाल प्रहरीमा कार्यरत तथा अवकाशप्राप्त प्रहरी कर्मचारीलाई तलबी खाता, कर्जा, पेन्सन र बिमा सुविधासहितका सेवा उपलब्ध गराउने गरी नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता नवीकरण भएको छ ।
यसअघि भएको तलबी खाता सञ्चालनसम्बन्धी सम्झौताको अवधि समाप्त भएपछि थप सेवासहित पाँच वर्षका लागि सम्झौता नवीकरण गरिएको हो । यसअघि यस्तो सम्झौता १० वर्षका लागि गरिएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले सम्झौताबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई जिम्मेवारी निर्वाहमा थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । साथै, अवकाशप्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारले सरल तथा सुलभ कर्जालगायतका सुविधा प्राप्त गर्ने उनले बताए ।
सम्झौताले बहालवाला प्रहरी कर्मचारीको तलबी बचत खाता सञ्चालनसँगै अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारका लागि पेन्सन वितरण र विभिन्न कर्जा सुविधा समेत समेटेको छ ।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रहरी कर्मचारीलाई बिना धितो १५ लाख रुपैयाँसम्म ‘पेसाकर्मी सरल कर्जा’ उपलब्ध गराउनेछ । यस्तै, पेन्सनरका लागि पाँच लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ ।
योग्य बहालवाला तथा अवकाशप्राप्त, अमर/सहिद र अशक्त प्रहरी कर्मचारीलाई नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको उपभोक्ता कर्जा निर्देशिकाअनुसार २० वर्षसम्मको अवधिका लागि ५० लाख रुपैयाँसम्म घर कर्जा उपलब्ध गराइनेछ । अवकाशप्राप्त, अमर/सहिद तथा अशक्त प्रहरी कर्मचारीले भने राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन खाता सञ्चालन गरेको हुनुपर्नेछ ।
सम्झौतामा सवारीसाधन खरिदका लागि सातदेखि १० वर्ष अवधिको गाडी कर्जा तथा शैक्षिक कर्जाको सुविधा पनि समेटिएको छ । घर कर्जामा एक प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर कायम हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, प्रहरी कर्मचारीको दुर्घटनाका कारण मृत्यु वा पूर्ण अपाङ्गता भएमा पाँच लाख रुपैयाँको बिमा सुविधा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।


