लाजिम्पाटमा रहेको होटल ल्हासा इन्टरनेशनल प्रालिद्वारा सञ्चालित दुसित प्रिन्सेस काठमाडौंले गत आर्थिक वर्ष २०८२।८३ को ११ महिनाको अवधिमा ४० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ११ महिनाको अवधिमा ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवको ११ महिनाको अवधिमा कर, ह्रास, ब्याजसहित ११ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । तर, ब्याज र मूल्यह्रासका कारण खुद नाफा ऋणात्मक रहेको छ ।
यसअघि कम्पनीले सन् २०२५ मा ४३ करोड ७० लाख रुपैयाँ र सन् २०२४ मा ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले पाँच तारे होटल सञ्चालन गर्दै आएको छ । २ हजार ५ सय ५३ स्क्वायरमिटर क्षेत्रफलमा फैलिएको होटलमा १ सय ७ वटा कोठाको सुविधा छन् । कम्पनीले सन् २०२३ देखि व्यवसायिक कारोबार सुरू गरेको थियो ।
हालसम्म नाफा कमाउन नसकेको उक्त कम्पनीले सन् २०२५ मा कर, ह्रास, ब्याजसहित १२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले उक्त वर्ष गरेको कारोबारमा ४६ प्रतिशत कोठाको सेवाबाट र ३८ प्रतिशत आम्दानी खानाबाट भएको थियो ।
कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त रहेको छ । कम्पनीको सन् २०२५ मा समग्र गियरिङ अनुपात ३.९१ गुणा रहेको थियो । साथै, कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ ३.९९ गुणाबाट बढेर ४.०९ पुगेको थियो ।
त्यसैगरी, कम्पनीको गत आवको ११ महिनाको अवधिमा समग्र गियरिङ अनुपात सुधार भई २.९७ गुणामा झरेको छ । साथै, कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ ३.०९ गुणा पुगेको छ ।
कम्पनीको गत आवमा ब्याज कभरेज अनुपातमा पनि सुधार आएको छ । सन् २०२५ मा ०.६२ गुणा रहेको ब्याज कभरेज अनुपात गत आवको ११ महिनाको अवधिमा सुधार भई ०.८३ गुणा पुगेको छ । कम्पनीले समग्र अकुपेन्सी लेभल गत आवमा ५२ प्रतिशत पुगेको छ । सन् २०२५ मा ५३ प्रतिशत थियो ।
कम्पनीले होटलमा क्यासिनो विस्तार गरिरहेको छ । कम्पनीले उक्त क्यासिनो सन् २०२७ को सुरुवातीबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
कम्पनीको होटल व्यवस्थापन दुसित ओभरसिज कम्पनीले गर्नेछ । कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्ड दुसित प्रिन्ससेसमा होटल सञ्चालन गर्दै आएको छ । ७७ वर्षको अनुभव रहेको दुसित इन्टरनेशनलले विश्वका १८ वटा देशमा २ सय ९० वटा होटल, रिसोर्ट र लक्जरी भिल्लामा रहेको ११ हजार ८ सय कोठाको ९ वटा ब्रान्डका व्यवस्थापन गर्दै आएको छ ।
दोर्जे ग्याल्जेन लामाको ४९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २ करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले २ अर्ब १ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि बीबी रेटिङ र ५१ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एफोर रेटिङ प्राप्त गरेको छ ।


