नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ । राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।
ब्रोकर कम्पनी निलम्बनमा परेसँगै अब तीन दिनसम्म सो ब्रोकरमार्फत लगानीकर्ताले सेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।
ब्रोकर कम्पनीले सेयर कारोबार भएपछि सोको रकम र सेयर समयमै राफसाफ नगर्दा बजारको चक्र प्रभावित हुने भएकाले नियामकले यस्तो कडा कदम चालेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फर्स्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जानकारी दिएको छ ।
नेप्सेले यस निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र सम्बन्धित अन्य शाखालाई समेत गराएको छ ।


