Banijya News

राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल

1
1.0K Shares

लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रिक्त रहेको डेपुटी गभर्नर पदमा रावललाई नियुक्त गरिएको हो ।

राष्ट्र बैंकभित्र नीति निर्माण, वित्तीय अनुगमन र सुपरिवेक्षणको क्षेत्रमा करिब दुई दशक लामो विशेष अनुभव बटुलेका रावल एक व्यावसायिक र दक्ष अधिकारी मानिन्छन् । डेपुटी गभर्नरमा नियुक्त हुनुअघि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व गरिरहेका थिए ।

रावलले यसअघि (सन् २०१९ देखि २०२४) सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल युनिटको नेतृत्व गरेका थिए । उनीसँग राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रुपमा काम गरेको अनुभव समेत छ ।

राष्ट्र बैंक प्रवेश गर्नुअघि उनले नेपाल बैंक मिलमिटेडमा सहायक प्रबन्धकको रुपमा बैंकिङ करिअर सुरु गरेका थिए । राष्ट्र बैंकको करिअरको सुरुवातमा उनले आर्थिक अनुसन्धान विभाग तथा बैंक र वित्तीय संस्था नियमन विभागमा काम गरेका थिए । उनले नीति तथा योजना इकाइको इन्चार्ज र नियमन समितिको सदस्य सचिवको रूपमा पनि जिम्मेवारी सम्हालेका थिए । उनी वि.सं. २०६२ मा राष्ट्र बैंकमा प्रवेश गरेका हुन् ।

रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका पीएचडी स्कलर हुन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा समेत स्नातकोत्तर हासिल गरेका छन् ।

राष्ट्र बैंकभित्रका सबै पदोन्नतिहरूमा उनी आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट चुनिएका हुन् । सन् २०१८ मा लोक सेवा आयोगले लिएको निर्देशक पदको खुला प्रतिस्पर्धामा उनी प्रथम स्थान हासिल गर्न सफल भएका थिए । उनले बैंकिङ क्षेत्रसम्बन्धी दुईवटा पुस्तकहरू सह–लेखन गरेका छन् भने सन् २०१२ मा ‘सामना बैंकिङ पुरस्कार’ बाट समेत सम्मानित भएका थिए ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने प्रावधानअनुरूप सरकारले यसअघि गत चैत २४ गते किरण पण्डितलाई नियुक्त गरिसकेको छ । रावलको यो नियुक्तिसँगै राष्ट्र बैंकको रिक्त रहेको दोस्रो डेपुटी गभर्नरको पद पनि पूर्ति भएको छ । डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुनेछ ।

1

Scroll to Top