पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिको ५७ करोडभ्रन्द्या बढीको सम्पत्ति लिलामी हुने भएको छ । बैंकको ऋण नतिरेपछि धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको हो ।
धितो लिलामका लागि राष्ट्रिय वाणिज्य बैंकले सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै रुपज्योतिको पर्साको वीरगञ्जस्थित चोर्नीमा रहेको कित्ता नं. १३ र १५ को जग्गा लिलामीको प्रक्रिया अगाडि बढाएको हो । सो जग्गाको क्षेत्रफल क्रमशः३३ हजार १७५ र २८ हजार ९५ वर्ग मिटर रहेको छ । बैंकले यस सम्पत्तिको न्यूनतम लिलाम मूल्य ५७ करोड ९७ लाख २१ हजार रुपैयाँ तोकेको छ ।
बैंकको मुख्य शाखा कार्यालय अन्तर्गतको ऋणी कम्पनी ‘एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालि’ ले विभिन्न शीर्षकमा लिएको कर्जा चुक्ता नगरेपछि बैंकले धितो लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।
बैंकले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋण राफसाफ नभएको जनाएको छ । ऋणीले ३५ दिनभित्र कर्जा राफसाफ नगरेमा बैंकले ३६औँ दिनदेखि ५०औँ दिनसम्म इच्छुक बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
प्राप्त बोलपत्रहरू ५१औँ दिनमा खोलिने बैंकले जनाएको छ । साथै, तोकिएको समयभित्र ऋण चुक्ता नभएमा ऋणी, प्रोप्राइटर तथा सञ्चालकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कालोसूचीमा समावेश गर्ने प्रक्रिया समेत अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।
यो कम्पनीको संस्थापक सेयरधनीहरूमा प्रतिष्ठित व्यवसायी डा. रुप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एण्ड कम्पनी प्रालि रहेका छन् । ३५ दिनभित्र ऋणको सावाँ र ब्याज चुक्ता नगरे धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरिने र ऋणीहरूलाई कालोसूचीमा राखिने बैंकले चेतावनी दिएको छ ।


