नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजीबजारमा नयाँ प्रडक्ट भित्र्याएर लगानीकर्तामा उत्साह बढाउनुपर्ने बताएका छन् । उनले पुँजीबजारको विकाससँगै लगानीकर्ताको हित, जोखिममा आधारित नियमन र संस्थागत सुशासनलाई प्राथमिकतामा राखिने बताएका हुन् ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले बुधबार आयोजना गरेको पुँजीबजारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले सेबोनले अब क्यास वा क्रेडिट कारोबार गर्ने नीति अवलम्बन गर्ने बताए । उनका अनुसार आउँदै गरेको मार्जिन कारोबार सुविधाले हालको क्रेडिट कारोबारलाई थप व्यवस्थित र सुधार गर्न सहयोग पुग्नेछ ।
अध्यक्ष भट्टले सेबोनले पुँजीबजारसँग सम्बन्धित विभिन्न मार्गदर्शन जारी गर्ने तयारी गरेको जानकारी दिए । ती मार्गदर्शनमा लगानीकर्ताको हित संरक्षण, जोखिममा आधारित नियमन तथा पुँजीबजारमा संस्थागत सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ । प्राथमिक तथा दोस्रो बजार दुवैमा सुधार गर्ने विषय सेबोनको प्राथमिकतामा रहेको उनले बताए ।
कार्यक्रमका सभापति तथा एसोसिएसनका अध्यक्ष सागर ढकालले सेबोनमा रहेका दुई दशकभन्दा पुराना ऐन तथा कानुनलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने बताए । नयाँ नेतृत्व आएपछि सेबोनले अपेक्षाभन्दा बढी काम गरेको उल्लेख गर्दै उनले ‘अटो ईडीआईएस’को व्यवस्था ल्याउन पनि सुझाव दिए ।
एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालले पुँजीबजार विकाससम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले लगानीकर्ताको विश्वास नै पुँजीबजारको सबैभन्दा ठूलो आधार रहेको बताए । उनले ब्रोकर व्यवसायलाई आधुनिक र सम्मानित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सेबोन अध्यक्ष भट्टसहित व्यवस्थापन टोली तथा ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिको सहभागिता थियो । बजारका नियामक र सञ्चालकबीचको यो छलफलले आगामी दिनमा नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।


