स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ २७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा सिरहाको लहानस्थित विशाल होटलमा सुरु हुनेछ ।
सभाले संस्थाको पुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र यसका लागि नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव तथा निर्देशनलाई सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सोहीबमोजिम सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना महिलासहित दुईजना सञ्चालकको निर्वाचन गर्नेछ । सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गर्नेछ ।
सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ १० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको सभामा भाग लिन योग्य हुनेछन् ।


