Banijya News

निर्जीवन बीमा क्षेत्रको सञ्चित मुनाफा ३४ प्रतिशतले घट्यो, अधिकांशको कमजोर प्रदर्शन

1
1.0K Shares

गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै निर्जीवन बीमा कम्पनीहरूको सञ्चित मुनाफामा उल्लेख्य गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस क्षेत्रका कम्पनीहरूको कुल सञ्चित मुनाफा ३४.३६ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूको कुल सञ्चित मुनाफा ५ अर्ब १७ करोड २१ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा सञ्चित मुनाफा घटेर ३ अर्ब ३९ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीहरूले आर्जन गरेको मुनाफाबाट लाभांश तथा अन्य वितरणपछि बाँकी रहने रकमलाई सञ्चित मुनाफा अर्थात् रिटेन्ड अर्निङ भनिन्छ । यस्तो रकम कम्पनीको व्यवसाय विस्तार, जोखिम व्यवस्थापन, पुँजी वृद्धि तथा अन्य आवश्यक प्रयोजनमा प्रयोग हुने गर्छ ।

सञ्चित मुनाफाका आधारमा सरकारी स्वामित्वसमेत रहेको राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले मुनाफा वृद्धि गर्दै २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ सञ्चित मुनाफा कायम गरेको छ । कुल सञ्चित मुनाफामा राष्ट्रिय बीमा कम्पनीको हिस्सा नै सबैभन्दा ठूलो देखिएको छ ।

यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सको वित्तीय अवस्थामा भने सुधार आएको छ । युनाइटेड अजोडको सञ्चित मुनाफा करिब २४ प्रतिशतले बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड ३० लाख रुपैयाँ घाटामा रहेको ओरिएन्टल इन्स्योरेन्सले गत वर्ष ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

अन्य कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चित मुनाफा ५४ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्सले साढे ३६ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले ३४ करोड ७९ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २७ करोड ४७ लाख रुपैयाँ सञ्चित मुनाफा कमाएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको सञ्चित मुनाफा १० करोड ४१ लाख, सानिमा जीआईसीको ९ करोड ८७ लाख, शिखर इन्स्योरेन्सको ७ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको ५ करोड ७३ लाख, आईजीआई प्रुडेन्सियलको १ करोड ८४ लाख र एनएलजी इन्स्योरेन्सको १ करोड १७ लाख रुपैयाँ रहेको छ ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा अधिकांश कम्पनीको मुनाफामा ठूलो गिरावट आएको छ । आईजीआई प्रुडेन्सियलको सञ्चित मुनाफा करिब ८८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको करिब ८७ प्रतिशतले घटेको विवरणमा देखिन्छ । प्रभु इन्स्योरेन्सको मुनाफा ७५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६४ प्रतिशत र शिखर इन्स्योरेन्सको ६२ प्रतिशतले घटेको पाइएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स र सिद्धार्थ प्रिमियरको मुनाफा क्रमशः ५२ प्रतिशत र ४५ प्रतिशतले घटेको छ । सानिमा जीआईसीको मुनाफा ४२ प्रतिशत, सलिकोको २४.९० प्रतिशत र हिमालयन एभरेष्टको ८.८८ प्रतिशतले घटेको छ ।

यता भारतीय लगानी रहेको नेशनल इन्स्योरेन्सको वित्तीय संकट भने थप गहिरिएको देखिन्छ । कम्पनीको घाटा अघिल्लो वर्षको १ अर्ब १० करोड रुपैयाँबाट बढेर १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

समग्रमा तीन कम्पनीले सुधार गरे पनि बाँकी अधिकांश कम्पनीको मुनाफा घट्नु वा घाटा बढ्नुले निर्जीवन बीमा क्षेत्रमा व्यावसायिक दबाब र चुनौती बढ्दै गएको संकेत गरेको छ । साथै, सञ्चित मुनाफामा आएको गिरावटले कम्पनीहरूको आगामी पुँजी व्यवस्थापन, लाभांश क्षमता र व्यवसाय विस्तारमा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।

1

Scroll to Top