कुमारी बैंक लिमिटेडले नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवा उद्यमी तथा मूल्य शृङ्खलामा आबद्ध व्यवसायको वित्तीय पहुँच विस्तार गर्न हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग समझदारी गरेको छ ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन् । साझेदारीमार्फत हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायलाई वित्तीय पहुँचसँगै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक सञ्जाललाई हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खला सुदृढीकरणसम्बन्धी अनुभवसँग जोडेर सहकार्य अघि बढाइनेछ । दुवै संस्थाले हरित उद्यमका लागि वित्तीय पहुँच विस्तार, मूल्य शृङ्खला वित्तीयकरण तथा व्यवसाय सञ्चालन क्षमता विकासलाई प्राथमिकता दिनेछन् ।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमको विकासका लागि प्रयासरत व्यवसायी तथा उद्यमीलाई वित्तीय स्रोतका साथै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत सहयोग गरिने बताए । उनका अनुसार सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्याउनुका साथै व्यवसायीको वित्तीय पहुँचलाई दिगो बनाउन सहयोग गर्नेछ ।
यस सहकार्यबाट सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा आबद्ध अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध स्थापित हुने बैंकको विश्वास छ ।
कुमारी बैंकले २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ तथा १,२३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा दिँदै आएको छ । बैंकले उक्त सञ्जालमार्फत सहकार्यबाट लक्षित समुदायसम्म वित्तीय सेवा तथा कार्यक्रम विस्तार गर्ने जनाएको छ ।


