Banijya News

ऋणपत्र बजार विस्तार गर्न सेबोनले ल्यायो नयाँ नियमावलीको मस्यौदा

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले मस्यौदामाथि सरोकारवाला पक्षबाट राय, सुझाव तथा प्रतिक्रिया मागेको हो ।

प्रस्तावित नियमावली कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थासँगै योग्य अन्य संगठित संस्थाले समेत ऋणपत्र जारी गरी दीर्घकालीन वित्तीय स्रोत जुटाउन सक्नेछन् । यसले संस्थागत ऋणपत्र बजार विस्तार गर्नुका साथै बजारको गहिराइ, तरलता र जोखिम व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा बोर्डले गरेको छ ।

नेपालको पूँजी बजारलाई हालको इक्विटीमा केन्द्रित संरचनाबाट विभिन्न वित्तीय उत्पादन उपलब्ध हुने बहुउत्पादनयुक्त बजारका रूपमा विकास गर्ने लक्ष्यअनुसार नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ । ऋणपत्र बजारलाई थप विविधीकृत, प्रतिस्पर्धी र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत आधार बनाइएको बोर्डको भनाइ छ ।

बोर्डका अनुसार नयाँ व्यवस्थाले ऋणपत्रको दर्ता तथा निष्काशनसम्बन्धी प्रक्रियालाई समयानुकूल बनाउनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाबाहेकका योग्य संस्थालाई पनि ऋणपत्रमार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने अवसर विस्तार हुनेछ ।

मस्यौदा बोर्डको कानून प्रवलीकरण समितिमा छलफल गरी आवश्यक परिमार्जनसहित तयार गरिएको हो । अब सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर मस्यौदालाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ ।

बोर्डले मस्यौदामाथि राय, सुझाव वा प्रतिक्रिया भए सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो इमेलमार्फत पठाउन सरोकारवालालाई आग्रह गरेको छ ।

1

Scroll to Top