सयपत्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २७.७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको पाइएको छ । अघिल्लो वर्ष ५ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष ५ करोड २ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ । आयमा आएको यो गिरावटले प्रत्यक्ष रूपमा कम्पनीको नाफालाई असर गरेको देखिन्छ । यता कम्पनीको सञ्चालन मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ४ करोड ३४ रुपैयाँ थियो ।
हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस हाइड्रोपावरको जगेडा कोष अझै ऋणात्मक अवस्थामै छ । विवरणअनुसार कम्पनी ४ करोड ८७ लाख ६२ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
वित्तीय खर्च भने यस अवधिमा १ करोड ३७ लाख ९५ हजार रुपैयाँ भएको देखिन्छ । कुल ५० करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको यस कम्पनीको दीर्घकालीन ऋण २० करोड २६ लाखबाट घटेर १७ करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । अघिल्लो वर्ष १ रुपैयाँ ३९ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष १ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८४ पैसा रहेको छ ।


