Banijya News

गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी बाटो खोल्ने सरकारको संकेत

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा शुक्रबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री वाग्लेले गाँजाको उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र राजस्व संकलनको विषयमा मात्र सीमित गर्न नहुने बताए । यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगका सम्भावनालाई समेत अध्ययन गरेर आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा गाँजा खेतीलाई व्यवस्थित रूपमा अघि बढाउने गरी कानून निर्माण भए अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे । उनका अनुसार गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले थप अध्ययन तथा कानुनी प्रक्रियाका लागि गृह मन्त्रालयसँग समन्वय गरिनेछ ।

मन्त्री वाग्लेले गाँजाको व्यावसायिक तथा औषधिजन्य उपयोगबारे सार्वजनिक बहस भइरहेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । विगतका बजेटमा समेत गाँजाको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको स्मरण गराउँदै उनले औद्योगिक प्रवद्र्धन र सरकारी राजस्व वृद्धिका दृष्टिले यसको सम्भावना खोज्नुपर्ने बताए ।

उनका अनुसार विगतमा विकसित मुलुकहरूको दबाबमा गाँजामा प्रतिबन्ध लगाइए पनि अहिले तीमध्ये कतिपय मुलुक खुलापनतर्फ अघि बढिरहेका छन् । यस्तो अवस्थामा नेपालले पनि अध्ययन, नियमन र कानुनी व्यवस्थामार्फत गाँजाको सम्भावनालाई उपयोग गर्नुपर्ने उनको धारणा छ ।

मन्त्री वाग्लेले गाँजा खेतीसम्बन्धी विषयलाई प्राथमिकताका साथ अघि बढाई आवश्यक निष्कर्षमा पुर्‍याउन आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

1

Scroll to Top