गत आर्थिक वर्ष २०८२/८३ मा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिए पनि अधिकांश कम्पनीको लाभांश क्षमता भने कमजोर देखिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म १४ फाइनान्स कम्पनीले समग्रमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४४.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीहरूको कुल खुद नाफा ६७ करोड ४ लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको ब्याज आम्दानीमा सुधार र इम्पेयरमेन्ट चार्जमा आएको कमीले नाफा बढाउन सहयोग गरेको देखिन्छ । साथै, अघिल्लो आवमा करोडौं रुपैयाँ घाटामा रहेका तीन कम्पनी गत आवमा नाफामा फर्किएपछि समग्र नाफा वृद्धिमा थप टेवा पुगेको हो ।
गत आवमा फाइनान्स कम्पनीहरूले ३ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ७.०७ प्रतिशत बढी हो। ब्याज आम्दानीमा भएको सुधारसँगै अधिकांश कम्पनीको नाफा बढेको देखिएको छ ।
गत आवमा नेपाल फाइनान्सबाहेक सबै कम्पनी नाफामा छन् । सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ । कम्पनीले ३७ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ, जुन अघिल्लो आवको तुलनामा २०.३६ प्रतिशत बढी हो ।
यता नेपाल फाइनान्स भने गत आवमा ६ करोड ९६ लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवमा कम्पनीले ३८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको नाफा घटेको छ भने अन्य कम्पनीको नाफा बढेको छ ।
अधिकांशको एनपीएलमा सुधार
यसैगरी, गत आर्थिक वर्षमा अधिकांश फाइनान्स कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा सुधार देखिएको छ । वित्तीय विवरणअनुसार ९ कम्पनीको एनपीएल घटेको छ भने ५ कम्पनीको बढेको छ ।
सबैभन्दा उच्च एनपीएल जानकी फाइनान्सको ६१.५५ प्रतिशत रहेको छ । कम्पनीको एनपीएल अघिल्लो आवको तुलनामा १२.९४ प्रतिशत अंकले बढेको हो ।
सबैभन्दा कम एनपीएल भने आईसीएफसी फाइनान्सको १.५५ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा एनपीएल ०.२९ प्रतिशत अंकले घटाएको हो ।
गत आवमा ८ फाइनान्स कम्पनीको एनपीएल ५ प्रतिशतभन्दा माथि छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार खराब कर्जा अनुपात ५ प्रतिशत वा सोभन्दा कम रहेमा वित्तीय अवस्था तुलनात्मक रूपमा स्वस्थ मानिन्छ भने त्यसभन्दा माथि पुगेमा जोखिम बढेको मानिन्छ ।
नाफा बढे पनि लाभांश क्षमता कमजोर
फाइनान्स कम्पनीहरूले खुद नाफामा उल्लेख्य सुधार गरे पनि त्यसको प्रत्यक्ष लाभ लगानीकर्ताले पाउने अवस्था भने कमजोर देखिएको छ । गत आवको वित्तीय विवरणअनुसार ८ कम्पनीको वितरणयोग्य मुनाफा अर्थात् लाभांश क्षमता ऋणात्मक छ । यस्तो अवस्थामा ती कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्न सक्दैनन् ।
बाँकी ५ कम्पनीको लाभांश क्षमता धनात्मक भए पनि गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको क्षमता ०.९९ प्रतिशत मात्रै छ । यसकारण उक्त कम्पनीले पनि यस वर्ष लाभांश वितरण गर्ने सम्भावना न्यून देखिन्छ ।
सबैभन्दा बढी लाभांश क्षमता भने मञ्जुश्री फाइनान्सको ३१.१३ प्रतिशत रहेको छ । यसले मञ्जुश्री फाइनान्स अन्य फाइनान्स कम्पनीको तुलनामा लाभांश वितरणका हिसाबले बलियो अवस्थामा रहेको देखाउँछ ।
यसरी हेर्दा गत आवमा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आए पनि खराब कर्जा, सञ्चित नोक्सानी तथा वितरणयोग्य मुनाफाको अवस्थाले अधिकांश कम्पनीका लगानीकर्तालाई तत्काल लाभांश प्राप्त हुने सम्भावना कमजोर बनाएको छ ।


