Banijya News

शिवशिखर सहकारीको सम्पत्ति लिलामी हुँदै

1
1.0K Shares

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न शाखामा रहेका जिन्सी सामानहरू लिलाम बिक्री हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ती सामानहरू लिलाम वा बिक्री गरिने जानकारी दिएको हो ।

समितिका अनुसार ‘समस्याग्रस्त संस्था वा संघको सम्पत्ति लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७३’ बमोजिम उक्त सहकारीका कार्यालय र मार्टहरूमा रहेका व्यावसायिक तथा कार्यालय प्रयोजनका जिन्सी सामग्रीहरू बिक्री गरी फरफारक गर्न लागिएको हो । समितिले तोकिएको १५ दिनको समयावधिभित्र सम्बन्धित प्रक्रिया पूरा गर्न समेत आह्वान गरेको छ ।

यो प्रक्रिया सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरूको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यका साथ अघि बढाइएको हो ।

लिलाम गरिने सम्पत्तिहरूमा मुख्यतया तीनवटा स्थानका सामग्रीहरू रहेका छन् । जसमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीको बुटवलमा सञ्चालन गरेको ‘गार्डेन मार्ट’ मा रहेका व्यापारिक र कार्यालय सामानहरू, कैलालीको लम्की शाखामा रहेका कार्यालय प्रयोजनका सामग्रीहरू र डोटीको सिलगढी शाखामा रहेका जिन्सी सामानहरू रहेका छन् ।

लिलाम बिक्री गरिने सामानहरूको विस्तृत विवरण र अन्य प्रक्रियाका बारेमा थप जानकारी लिन चाहने इच्छुक व्यक्ति वा संस्थाले समितिको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्ने सूचनामा उल्लेख छ ।

1

Scroll to Top