Banijya News

वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

1
1.0K Shares

वाणिज्य बैंकहरूले परम्परागत बैंकिङ कारोबारबाट हुने आम्दानीसँगै वित्तीय बजारमा गरिने कारोबारबाट समेत उल्लेख्य नाफा कमाएका छन् । सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट बैंकहरूको आम्दानी बढेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले ‘नेट ट्रेडिङ’ शीर्षकअन्तर्गत कुल १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरूको यस्तो आम्दानी ९ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ थियो ।

बैंकहरूको ट्रेडिङ आम्दानी बढ्नुमा मुद्रा बजार, ट्रेजरी कारोबार तथा विदेशी विनिमयसम्बन्धी कारोबारको योगदान महत्वपूर्ण देखिएको छ । यसबाहेक सेयर तथा अन्य वित्तीय उपकरणको कारोबारबाट समेत बैंकहरूले आम्दानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले नन–डेलिभरेबल फर्वार्ड (एनडीएफ) मा लगानी गर्न पाउने सीमा बढाएपछि केही बैंकको ट्रेडिङ आम्दानीमा थप सुधार आएको देखिन्छ ।

बैंकहरूले सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा वा अन्य वित्तीय उपकरण खरिद–बिक्री गर्दा हुने नाफा तथा घाटाको समायोजनपछि प्राप्त रकमलाई नेट ट्रेडिङ इनकमका रूपमा लिइन्छ ।

गत आवमा बैंकहरूको समग्र नाफा पनि उल्लेख्य बढेको छ । २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा ३२.३२ प्रतिशत बढी हो। ब्याज आम्दानीमा अपेक्षाकृत दबाब रहे पनि ट्रेडिङलगायत गैरब्याज आम्दानीका स्रोतले बैंकहरूको नाफा बढाउन सहयोग गरेका छन् ।

ट्रेडिङ आम्दानीमा कृषि विकास बैंकबाहेक अधिकांश बैंकले वृद्धि गरेका छन् । सबैभन्दा धेरै यस्तो आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आवमा १ अर्ब ३० करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ४२.२३ प्रतिशत बढी हो ।

त्यस्तै, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ट्रेडिङ कारोबारबाट १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

वृद्धिदरका आधारमा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । बैंकको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा १३८.९३ प्रतिशतले बढेको छ । यता कृषि विकास बैंकको ट्रेडिङ आम्दानी भने ७२.७२ प्रतिशतले घटेको छ ।

1

Scroll to Top